देश

चौधरी फाउन्डेसनले आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने


काठमाडौँ – कोभिड–१९ का कारण उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्याउन चौधरी फाउन्डेसनले आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनामा फाउन्डेसनले काम गर्ने निर्णय गरेको हो । फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आइसियू वार्ड र वीरकै नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिने उसले जनाएको छ । एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच सहयोग सम्वन्धमा हस्ताक्षर हुनेछ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

यस सम्बन्धमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको छ । वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर÷प्रतिघण्टा रहनेछ ।

यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ । अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्नेछ ।

‘अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सामग्री आयात गर्न हाम्रो टिम अहोरात्र खटिएको छ’ एक विज्ञप्ति जारी गरी फाउन्डेसनले भनेको छ ‘हामीलाई विश्वास छ कि हामी केही दिनभित्रै सामग्री आयात गरी प्लान्ट निर्माण गर्न र वीर अस्पतालका साथै कर्णाली र सुदूरपश्चिममा हाल विद्यमान अक्सिजन अभावको समस्या समाधान गर्न सफल हुनेछौं ।’

धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुवै प्रदेशको अक्सिजन माग पूरा गर्नेछन्। यसका साथै चौधरी फाउन्डेसनले तत्काल अक्सिजन कन्टन्ट्रेसन आयात गरी चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यी कन्सन्ट्रेसनहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण हुनेछ ।

आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए ।

चौधरी फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पिपिई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो ।