अर्थनीति

सेयर बजारमा नयाँ रेकर्ड : १० अर्ब ४० करोडको कारोबार


काठमाडौँ — सेयर बजारमा नेप्से परिसूचक र बजार पुँजीकरणले आइतबार नयाँ रेकर्ड बनाएका छन्  । यसअनुसार नेप्से परिसूचक २ हजार ७ सय ३८ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आइतबार नेप्से करिब ५४ अंक बढेको हो  ।

कारोबार बन्द हुँदाको यो अंक अहिलेसम्मकै उच्च हो । ठीक एक महिनाअघि नेप्सेले २७३५ अंकको उच्च रेकर्ड बनाएको थियो । त्यस्तै कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ । १० अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन बैंकिङ २७, ब्यापार ५१, होटल तथा पर्यटन ३५, विकास बैंक ११२, जलविद्युत ३०, फाइनान्स १६, निर्जीवन बीमा ५८४, उत्पादन ६३, अन्य ४५, माइक्रोफाइनान्स १०३ र जीवन बीमा समूह ५२८ अंकले बढेका छन् । त्यस्तै लगानी समूह २ अंकले बढेको छ ।

यस दिन रुरु जलविद्युत परियोजना, शिखर इन्स्योरेन्स, समता माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, सप्तकोसी विकास बैंक, बरुण हाइड्रोपावर र आइएमई जनरल इन्स्योरेन्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै विशाल बजार कम्पनीको मूल्य ९.३ प्रतिशतले बढेको छ ।

यस दिन युनियन हाइड्रोपावरको मूल्य ५ प्रतिशतले घटेको छ । त्यस्तै आँखुखोला जलविद्युतको मूल्य ३.९ प्रतिशतले घटेको छ । कारोबारका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीको ८५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य करिब ४ प्रतिशतले बढेर प्रतिकित्ता १६४३ रुपैयाँ पुगेको छ ।

त्यस्तै एनसिसी बैंकको ३१ करोड रुपैयाँ बराबरको कारोबार भयो भने मूल्य २ प्रतिशतले बढेर ३७५ रुपैयाँ पुगेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २९ करोड रुपैयाँको कारोबार हुँदा मूल्य ३ प्रतिशतले बढेर ५४७ रुपैयाँ पुगेको छ ।