समाचार

स्वास्थ्य सामग्री सहयोगको अपील गर्न राजदूतलाई निर्देशन


काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कूटनीतिक नियोग र दूतावासहरुलाई खोप, अक्सिजन सम्बन्धी सामाग्री, औषधि र अन्य स्वास्थ्य सामाग्री सहयोग प्राप्तिका लागि पहल गर्न निर्देशन दिएका छन् ।

विदेशमा रहेका कूटनीतिक नियोग प्रमुख र राजदुतहरुसँग भिडियो सम्मेलन गरेर मन्त्री ज्ञवालीले अहिले भइरहेका प्रयासलाई अझ बढाउन र सहयोगका नयाँ ढोकाहरु पहिल्याउन पनि आग्रह गरेका छन् । मन्त्री ज्ञवालीले दुईपक्षीय, बहुपक्षीय, विभिन्न सहयोगी संस्था, निजी क्षेत्र र विदेशमा रहेका नेपालीहरु मार्फत सहयोग जुटाउनका लागि आग्रह गरेका छन् ।

सरकारले एक हप्तायता अन्तरराष्ट्रिय सहयोग जुटाउनको लागि पहल गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयमले वेलायतको ‘दि गार्जियन’ पत्रिकामा एक लेख लेख्दै अन्तरराष्ट्रिय सहयोगका लागि अपील गरेका छन् । त्यसैगरी मन्त्रालयले काठमाडौंस्थित नेपाली दूतावासहरुसँग संवाद र समन्वय गरिरहेको छ ।