कोरोना विशेष

भेरोसेलको दोस्रो डोज खोप दिन आजबाट सुरु, कसको पालो कहिले ?


काठमाडौँ – कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई आईतबार बिहान १० बजेदेखि दोस्रो डोज खोप लगाइदै छ ।

काठमाडौं महानगरपालिकाका अनुसार पहिलो डोज केही अस्पतालबाट दिए पनि दोस्रो डोजका लागि भने ३२ वटै वडामा खोप केन्द्र तोकिएको र तोकिएकै केन्द्रबाट खोप लगाउन सकिने छ । दोस्रो डोजका खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने छ ।

आजबाट सुरु भएको दोस्रो डोजको खोप जेठ ११ गतेसम्म सञ्चालन हुनेछ । महानगरपालिकाले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्राको खोप दिने जनाएको छ ।

गत चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आज दोस्रो खोप दिइनेछ। यसैगरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई भोलि ३ गते, चैत ३१ र २०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ । वैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ । वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरूलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।