देश

नेकपा एमालेको छलफल : जेठ २ अघिको अवस्थामा फर्कन ओली सहमत


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउन तयार भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किन सहमत भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

साथै एमालेका दुईपक्षबीच भएको वार्ताले कार्यदलको नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ ।

वार्तापछि नेता भीम रावलले भने, ‘हाम्रो पार्टीको एकता कायम राख्नका लागि गम्भीरपूर्वक छलफल गर्‍यौं । २०७५ को जेठ २ भन्दा अगाडिको कुरालाई आधार मानेर अन्य छलफल अगाडि बढाउने कुरा भयो । त्यो प्रयोजनका लागि ओली र नेपालबीच कार्यदलको सदस्यको नाम तय गर्ने कुराकानी भएको छ ।’

वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा विष्णु पौडेल, विष्णु रिमाल थिए भने नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त वार्तामा बसेका थिए ।