कोरोना विशेष

कोरोना नियन्त्रण गर्न ईयूद्वारा नेपाललाई २८ करोड २० लाख बराबरको सहयोग


काठमाडौँ – कोरोना भाइरसको दोस्रो लहर सुरुभएपछि युरोपियन युनियन (ईयू) ले नेपाललाई २८ करोड २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।

सो सहायता अन्तर्गत होम आइसोलेसनमा बसेकालाई टेलि–हेल्थ, टेली–मेडिसिन सेवा प्रदान गर्ने, राष्ट्रिय आपतकालीन मेडिकल टोली परिचालन गर्ने, अन्तर्राष्ट्रिय आपतकालीन मेडिकल टोलीहरुको परिचालनमा सहजीकरण र नेपालमा कोभिड–१९ सम्बन्धी उपकरण खरिद तथा आपूर्ति गर्न सघाउने युरोपियन युनियनले जनाएको छ ।

‘उपकरण र आपूर्तिमा मुख्यतः अक्सिजन उपकरण जस्तै अक्सिजन ग्यास सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, होमकेयर किट्स, एन्टिजेन टेस्ट किट्स, पीपीई लगायत छन्,’ ईयूले बताएको छ ।

त्यसैगरी नेपालले ईयू सिभिल प्रोटेक्सन संयन्त्रलाई पनि सक्रिय पारेको ईयूले जनाएको छ । ईयूका अनुसार नेपाललाई दिने सहायता अन्तर्गत फिनल्याण्डले २० लाख सर्जिकल फेस मास्क, ३ लाख ५० हजार एफएफपी मास्क, ५२ हजार ५०० जोर भिनेल पञ्जा र ३० हजार आइसोलेसन गाउन उपलब्ध गराएको छ ।