कोरोना विशेष

खोप खरिदमा भएको कमिसन छानबिनको रिट सर्वोच्चद्वारा फिर्ता


काठमाडौँ – कोरोनाको खोपमा भएको भनिएको कमिसनको चलखेल छानबिन गर्न माग गर्दै दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ । वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारीले कोरोनाको खोपमा भएको भ्रष्टाचार छानबिन गर्न निष्कलङ्क व्यक्तिको नेतृत्वमा आयोग बनाउन माग गर्दै रिट लिएर गएका थिए ।

सर्वोच्च अदालतका रजिस्टार नारायणप्रसाद पन्थीले वैशाख २७ मा सो रिट दर्ता गर्न नमिल्ने आदेश गरेका छन् । पन्थीबाट भएको आदेशको विरुद्ध दर्ता गर्न खोजिएको निवेदन पनि सर्वोच्चले दर्ता नगरेको वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारीले बताए । अदालतले गोप्य रुपमा लेनदेन गरेको कमिसन अदालतको क्षेत्राधिकारभित्र नपर्ने दाबी गरेर निवेदन दरपिठ गरेको छ । वरिष्ठ अधिवक्ता भण्डारीले औषधि खरिदमा भएको भ्रष्टाचार, कोभिड–१९ सुरु भएपछिको कालोबजारी, सरकारले गरेको खर्च र अपचलनबारे छानबिन गर्न डा। गोविन्द केसी, डा।द्वारिकानाथ ढुङ्गेल र सुकदेव भट्टराईजस्ता निष्कलङ्क व्यक्तिको नेतृत्वमा नागरिक आयोग गठन गर्न माग गरेका छन् ।