कोरोना विशेष

विज्ञ भन्छन् : अक्सिजन आपुर्तिका गर्न बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट आउँछ (भिडियोसहित)


काठमाडौँ – अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपुर्तिका लागि तत्काल बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड १९ संक्रमितको संख्या बढेसँगै अक्सिजन अभावकै कारण मृत्युदर बढिरहँदा उत्पादकहरुले भविश्यमा अझै ठूलो समस्या आईपर्ने चेतावनी दिएका हुन् ।

नेपालमा कोरोनाको दोस्रो लहर सुरुभएसँगै मृत्युदर र संक्रमित दर अत्यासलाग्दो रुपमा बढिरहेको छ । कोरोना संक्रमणकै कारण एकैदिन सोमवार १३९ जनाले ज्यान गुमाए । यो संख्या एकैदिन मृत्यु भएको अहिलेसम्मकै उच्च हो । अझ कोरोनाका नयाँ भेरियन्टका बिरामीहरु अक्सिजनको सर्पोटबिना बाच्नै नसक्ने अवस्थाका रहेका छन् । यता संक्रमितको दर दिनप्रतिदिन बढिरहँदा मुलुकमा अक्सिजन सिलिन्डरको हाहाकार नै मच्चिएको छ ।

अक्सिजन अभावकै कारण कैयौँ कोरोना संक्रमितले ज्यान समेत गुमाएका छन् । बजारमा अक्सिजनको निकै अभाव भएको भन्दै अब थेग्नै सक्ने अवस्थामा नरहेको अक्सिजन उत्पादक संघले चेतावनी नै दिएको छ । तत्काल सरकारले अक्सिजन आपुर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणाले बढ्ने उसको चेतावनी छ ।

देशभर अक्सिजनको समस्या बढिरहेका बेला स्वास्थ्य मन्त्रालयले पनि सरकारलाई यसको छिटोभन्दा छिटो उचित व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेको छ । प्रतिपक्षी दलहरुले पनि अक्सिजन व्यवस्थापनका लागि प्रधानमन्त्रीकै समन्वयमा पहल आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

अहिले काठमाण्डौ उपत्यकामा मात्रै ८ वटा प्लान्ट संञ्चालनमा रहेको र २ वटा प्लान्टहरु मर्मतको क्रममा रहेको रहेका छन् । सबै प्लाण्ट पुर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको मागले थेग्न नसक्ने अवस्थामा पुगेको छ ।

अक्सिजन अभावमा अस्पतालमा उपचार हुन नसकेपछि सर्वसाधरण अहिले आफन्तको उपचारका लागि आफै अक्सिजन उत्पादन कम्पनिमा पुग्ने गरेका छन् । सर्वसाधरण अक्सिजनको सिलिण्डर बोकेर उद्योगमा नै जान थालेपछि अहिले उद्योगको सुरक्षार्थ सुरक्षाकर्मी नै परिचालन गरिएको छ । यता कोरोना संक्रमणबाट जनता आक्रान्त भईरहेका बेला राजनीतिक दलहरु भने कुर्सीको लडाईमा रुमल्एिका छन् ।