कोरोना विशेष

उपचार अभावमा मृत्यु भएका कोरोना संक्रमितको जिम्मा कस्को ?

वेड अभावमा मर्नु हत्या हैन ?


काठमाडौँ – देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन अंकमा पुग्न थालिसकेको छ । संक्रमित उपचार अभावमा ज्यान गुमाईरहेका छन । तर महामारी न्युनिकरण्का लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेहरु भने दोषारोपणको मज्जा लिईरहेका छन् ।

सरकार र राजनितिक दलहरुकै कारण कोरोना भाईरस संक्रमण फैलिएका आक्षेप खेपिरहेका नेताहरु यतिवेला दोष अरुलाई थोपरेर आफू चोखिने प्रयासमा लागेका छन् । कोरोना महमारीले भयावह रुप लिईरहँदा विपक्षी दलका नेताहरु भने सरकारकै कारण यस्तो अवस्था आएको टिप्पणी गर्न थालेका छन् । दोश्रो लहर सुरु भइसकेपछि सरकार ले नै बारम्बार स्वास्थ्य मापदण्ड विपरितको कार्य गरेको, काम सम्पन्न नै नभइसकेका संरचना उद्घाटनका नाममा सर्यौ उपस्थितीमा कार्यक्रम गरेको तथा पूर्वतयारीमा ध्यान नदिएको उनीहरुको आरोप छ ।

महामारी नियन्त्रणका लागि सर्वदलिय संयन्त्र बनाउन आफूहरुले पहल गरेपनि सरकार ले नै बेबास्ता गरेको उनीहरुको दाबी छ । अक्सिजन र वेड अभावमा संक्रमितले मृत्युवरण गर्ने अवस्था आउनु सरकारकै कमजोरी भएको उनीहरुको भनाइ छ । नागरिकको स्वास्थ्यभन्दा मन्दिर निर्माण प्राथमिकतामा राख्ने सरकारले खोपमा समेत भष्ट्रचार गरेर निर्लज्जता प्रदर्शन गरेको भन्दै उनीहरुले सरकारको आलोचना गरेका छन् ।

यता सरकार पनि दोषजति अरुकै थाप्लोमा हालेर पानीमाथिको ओभानो बन्न खोजेको छ । आम सर्वसाधारणको लापरबाहीका कारण कोरोना फैलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमा अभिव्यक्ति दिने प्रधानमन्त्री आफ्नो गल्ती स्वीकार्न तयार छैनन् ।

कोरोनाका बारेमा बारम्बार विवादास्पद अभिव्यक्ती दिदै आएका प्रधानमन्त्री कोरोना दोषारोपणको विषय बनाउन नहुने भन्दै पन्छिदै आएका छन् । तर चिकित्सकहरु भने दोषारोपण भन्दा पनि महामारी विरुद्ध लड्न सामुहिक संकल्प आवश्यक रहेको बताउँछन । महामारीको अवस्था अनपेक्षित हुनेभएकोले कतिपय अवस्थामा तयारी पनि कम हुन पुग्ने भएकोले यो अस्वाभाविक अवस्था दोषारोपणको समय नभएको उनीहरु बताउँछन ।

महामारी न्युनिकरणका लागि सरकारबाट गल्ती धेरै भएका छन् । यसको मतलव अन्य राजनितिक दल, नेता र आम सर्वसाधारण चोखो छन् भन्ने हैन । सरकारले बेलैमा पूर्वतयारी गरेको भए, आमसर्वसाधारणले स्वास्थ्य मापदण्डको कडाईका साथ प्रयोग गर्दिको भए र विपक्षी राजनितिक दलले किचलो सिर्जना नगरेका भए महामारी यस्तो भयावह हुने थिएन । तर देश महामारीबाट आक्रान्त भईसकेको अहिलेको अवस्थामा जिम्मेवार पक्ष दोषारोपण नै अल्झियो भने यो अझ हानिकारक बन्न सक्छ । यसर्थ सबैले यसतर्फ सोच्ने होकि ?