देश

ओलीको घमण्डमा माधवले चलाएको हतियार : ओलीलाई सिध्याउन विपक्षीलाई प्रधानमन्त्री बनाउने (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्को विश्वास गुमाए । झन्डै दुई तिहाई मतसहित गठन भएको सरकारले सामान्य बहुमतसमेत नपाएरसत्ताच्यूत हुने अवस्था बन्यो । जसको मुख्य जिम्मेवार एमालेकै माधव नेपाल पक्ष ठहरिएको छ । आफ्नै पार्टीका प्रधानमन्त्रीलाई विश्वासको मत नदिने एमालेका २८ सांसदको भविष्य अब के हुन्छ त ?

एमालेभित्र निषेध र कारबाहीको राजनीतिक अपमान सहदै आएको माधव नेपाल पक्षले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ब्रम्हास्त्रकै हतियार चलाईदियो ।जुन हतियारले ओलीलाई संसदको विश्वास गुमाएको हैसियत थमाईदिएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई माधव पक्षले संसद्मा उपस्थित भएर मत दिएको भए ओलीको ठ्याक्कै बहुमत पुग्थ्यो ।

किनकि माधव पक्षकै निर्णय अनुसार चल्न खोजेको जसपाको महन्थ ठाकुर पक्षपनि प्रधानमन्त्री ओलीलाई मत दिने तयारीमै थियो । तर माधव पक्षका २८ सांसदले अन्तिम समयमा आएर ओलीले विश्वासको मत माग्न बोलाएको बैठकमा नजाने निर्णय गरेपछि १५ सांसद रहेको जसपाको ठाकुर पक्ष पनि चिनिन् चाहेन र तटस्थ बस्ने निर्णय ग¥यो । ओलीले संसदमा ९३ मत मात्रै पाए भने विपक्षीमा १२४ सांसद उभिए ।

माधव पक्ष उपस्थित भएर जसपाका १५ सांसदले मत दिएको भए ओलीको पक्षमा ठ्याक्कै १३६ सांसद पुग्थ्यो । तर ओलीलाई विश्वासको मत दिनु ठिक नहुने भन्दै माधव पक्ष संसद्मा उपस्थित भएन ।