गण्डकी प्रदेश

फेरि पृथ्वीसुब्बा नै मुख्यमन्त्री बन्ने सम्भावना, यस्तो छ कारण !


काठमाडौँ – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारको पक्षमा हस्ताक्षर गर्न अस्वीकारगरेसँगै कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने सम्भावना बढेर गएको छ ।

जनमोर्चा विपक्षमा उभिएसँगै संविधानको धारा १६८ अनुसार गण्डकीमा ठूलो दलको नाताले कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा नै मुख्यमन्त्री बन्ने सम्भावना बढेर गएको हो । गुरुङको पक्षमा अहिले २७ सांसद छन् भने स्वतन्त्र भनिएका दीपक मनाङेग्ले पनि गुरुङलाई नै सघाउँदै आएका छन् ।

संविधानको धारा १६८ को उपधारा २ मा ‘प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ’, भन्ने प्रावधान रहेको छ ।

संसदीय दलका नेतासमेत रहेका थापाले दिनभरको रस्साकस्की पछि अन्ततः कांग्रेस नेतृत्वको सरकारलाई नसघाउने घोषणा गरेकको छ । मंगलबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका नेताहरुसँग भएको बैठकमा थापाले कांगेस नेतृत्वको सरकारको पक्षमा हस्ताक्षर गर्न नसक्ने बताउनु भएको एक नेताले जानकारी दिनुभयो ।

थापाको यो घोषणासँगै बैठक छिन्नभिन्न भइसकेको छ । यद्यपि, वैशाख १५ गतेको मतदानको बेला सम्पर्कविहीन भएका जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले भने विपक्षी मोर्चालाई सघाउने बताएका थिए ।

३ सांसद रहेको जनमोर्चाकी सचेतक पियारी थापा यसअघि नै नयाँ गठबन्धनको पक्षमा थिइन् । उनले नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्न ह्विप नै जारी गरेकी थिइन् ।

जनमोर्चाका थापा तर्किएपछि विपक्षीहरुलाई बहुमत पुर्‍याउन सकस भएको छ । अहिले गण्डकी प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका सभामुसहित १२, जनता समाजवादीका २ र राष्ट्रिय जनमोर्चाका ३ सभासद छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सिटसहित एमाले ठूलो दल हो । ठूलो दल भएको नाताले अहिले कामचलाउ बनेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नै पुनः मुख्यमन्त्री बन्ने अवस्था आएको हो ।