देश

सांसद पदबाट राजीनामा नदिएर पार्टी एकता जोगाउन खोजेका छौँ : माधव नेपाल


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि अन्तिम प्रयास गर्न सांसद पदबाट राजीनामा नदिएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेर राखिएको संसद् बैठकमा उपस्थित नहुने निर्णय पार्टी एकताकै निम्ति भएको उहाँको दावी छ ।

‘हामीले अहिलेसम्म पनि सम्बन्धविच्छेद गरिसकेका छैनौं’ नेता नेपालले भन्नुभयो, ‘राजीनामा दिएपछि त सम्बन्ध विच्छेद भइगयो नि ।’ अझै पनि पार्टी एकताका निम्ति ओलीलाई अवसर दिएको उहाँले बताउनुभयो । ‘एकताका निम्ति यो अन्तिम मौका र अवसर हो’, नेता नेपालले भन्नुभयो ।

नेपालले एकताका आधार र सर्तहरु लेखेर अध्यक्ष ओलीसमक्ष पठाइसकेको पनि जानकारी गराउनुभयो । त्यस्तै उहाँले आज राजीनामा नदिनु भनेको एकता जोगाउने अन्तिम अवसर भएको बताउनुभयो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति प्रतिनिधिसभाको विशेष अधिवेशन अहिले चलिरहेको छ । सोमबार बिहान बसेको सांसदहरुको बैठकले राजीनामा नदिने तर संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।