देश

खनाल–नेपालले एमाले विभाजन गरेर अर्को पार्टी बनाए म सामेल हुन्छु : वामदेव


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेर नयाँ पार्टी बनाए आफू त्यसमै सामेल हुने बताउनुभएको छ । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले खनाल–नेपाल पक्षले नयाँ पार्टी बनाए आफू त्यसमै सामेल हुने बताउनुभएको हो ।

‘वरिष्ठ नेता क‍. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमालें) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन’, गौतमको भनाइ छ, ‘तर, यदि उहाँहरूले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’

गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि आफ्नो दुईबुँदे धारणा सार्वजनिक गरेको सुवेदीले बताए । पार्टीलाई २०७५ जेठ २ मा फर्काउन गरेको गौतमको प्रस्तावलाई ओलीले अस्वीकार गरेको सुवेदीको भनाइ छ ।