देश

कोरोना कहर : विवेकशील साझाको महाधिवेशन स्थगित


काठमाडौँ – विवेकशील साझाको महाधिवेशन स्थगित भएको छ । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन कोरोना कहरका कारण स्थगित गरिएको हो । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।

तर मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले हिजो वैशाख २५ गते शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको हो ।

परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने पनि बैठकले निर्णय गरेको छ । बैठकले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय समेत गरेको छ।