समाचार

भारतीय सीमा नाकामा नेपाल कमजोर : यसरी भित्रिदै छन् कोरोना संक्रमित (भिडियोसहित)


काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरिएपनि नेपालतर्फको सुरक्षा निकायको लापरबाहीका कारण अवस्था झन भयावह बन्दै गएको छ । अझ नागरिकले मास्क नै नलगाई हिड्नाले संक्रमणको जोखिम थप बढाएको छ ।

सर्लाहीमा कोभिड सङ्क्रमणको गति तीव्र रुपमा बढिरहेपनि नागरिकहरु भने मास्क नै नलगाई हिँड्डुल गर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालयले माक्स नलगाई हिंडडुल गर्नेलाई जरिवाना र कारबाहीको व्यवस्था त गरेको छ । तर प्रहरीले कारबाहीमा कडाई नगर्दा जोखिम थप बढिरहेको छ । जिल्लामा संक्रमण रोकथामका लागि सचेतनामूलक कार्यक्रम संचालन भइरहेको भएपनि ग्रामीण भेगका नागरिकहरुले चासो नै दिएका छैनन्

अझ नेपाल भारत सिमानाकाको अवस्था झन भयावह बनेको छ । भारततर्फका सुरक्षाकर्मीले नेपाली नागरिकलाई खुलेआम रुपमा भारत प्रवेशमा कडाईका साथ रोक लगाएपनि नेपालतर्फका सुरक्षाकर्मीले भने मुख्यनाका बाहेकका अन्य बाटोहरुबाट दैनिक हजारौंको संख्यामा मानिसहरुलाई नेपाल प्रवेश गराइरहेका छन् । भारतमा दोस्रो भेरियन्टको कोेरोना तिब्रगतिमा फैलिरहेको अवस्थामा सिमामा खटिएका सुरक्षाकर्मीहरुकै लापरबाहीले नेपालमा भयावह स्थितिको सृजना भएको स्थानीयवासी बताउँछन् ।

सर्लाहीमा हालसम्म कोरोनाबाट ४ जनाको ज्यान गइसकेको छ भने २ सय भन्दाबडी अहिलेपनि सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमण बढ्दै जाँदा पनि सर्लाहीमा लापरवाही चरम रुपमा भएको देखिएको छ । २० स्थानीय तह रहेको सर्लाहीका अधिकांश स्थानीय तह भारतीय सीमासँग जोडिएका छन् ।

भारतसँग नाका जोडिएका स्थानीय तहका बासिन्दाहरु किनमेल तथा अन्य कुनैकामका लागि भारतीय बजार नै नजिक पर्ने भएकोले मुख्य नाका बन्द भएपनि चोरबाटो तथा खेतको आली भएर निर्वाध रुपमा आवतजावत गरिरहेका छन् । सिमानाका सँग जोडिएका गाउँहरुमा अहिले एकैसाथ सयौं मानिसहरुमा कोरोना सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी हरु देखापरेका छन् । सदरमुकाम मलंगवामै कोरोना जाँचको लागि पिसिआर प्रयोगशालाको सुविधा भएपनि परिक्षणको दायरालाई फराकिलो बनाउन स्थानीय तहहरुले कुनै पहल गर्नसकेका छैनन् ।

एकातिर स्थानीयले नै लापरवाही गरिरहँदा सरकारी निकायबाट पनि जिल्लामा कोरोना नियन्त्रणका लागि कुनै तयारी गरिएको देखिंदैन ।