राजनीति

कोरोनाको दोस्रो लहरले जनता हायलकायल हुँदा पनि खोप ल्याउने जिम्मा पाएका एजेण्टहरु कमिशनकै व्यस्थ

आरोप लागेको हुकुम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक्स प्रालिले भने खोप खरीदको प्रक्रिया रोक्न आफ्नो कुनै भूमिका नरहेको दाबी गरेको छ ।


काठमाडौँ – कोरोना विरुद्धको खोप अभावमा आम सर्वसाधारण मृत्युवरण गर्न बाध्य बनिरहँदा सरकार भने विचौलियालाई दोष दिएर पन्छिरहेको छ । विचौलियाहरुले कमिशनमा कुरा नमिलेर खोप आयातमा ढिलासुस्ती गर्दा पनि सरकार भने कारवाही गर्नुको साटो भूतप्रेतको संज्ञा दिएर उन्मुक्ति दिन क्रियाशिल देखिन्छ ।

कोरोना महामारीको दोश्रो लहरसंगै विश्वका धेरै देशहरुले यतिवेला कोरोना विरुद्धको खोप अभियानमा जोडतोडका साथ लागेको छन् । तर दुई ठूला खोप उत्पादक देशको विचमा रहेको नेपालमा भने कोरोना खोप कमाउको धन्दा बन्दा खोप अभियान नै प्रभावित बनेको छ । तीन महिनाभित्र सबै नागरिकलाई निशुल्क खोप लगाउने उद्घोष गरेको सरकार विचौलियाकै कारण असफल भएको छ । यता स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि सार्वजनिक रुपमै भूतप्रेत रुपी विचौलियाका कारण नेपालमा समयमै खोप आयात हुन नसकेको आरोप लगाउने गरेका छन् । उनले भूतप्रेत भनेका मानिसहरु हुन सुुरज बैद्य विजय दुगड र अभिषेक दुगड लगायतका ब्यक्ति । ६० लाख मात्रा खरिद गर्न खोज्दा कोभिसिल्ड नामक खोप उत्पादक सिरम इन्स्टिच्युटको नेपाल एजेन्ट हुकाम डिष्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्राली सक्रिय बन्दा खोप खरिद प्रक्रिया नै प्रभावित बनेको हो । जुन कम्पनी स्वास्थ्यमन्त्रीले भूतप्रेत भनेका तिनै व्यक्तिहरुको हो । तर प्रश्न यहि छ देश र जनताको अहित हुने गरी सल्बलाउने बिचौलियाहरु अघि सरकार किन निरिह छ ?

आरोप लागेको हुकुम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक्स प्रालिले भने खोप खरीदको प्रक्रिया रोक्न आफ्नो कुनै भूमिका नरहेको दाबी गरेको छ । हुकमले बिहीबार विज्ञप्ति निकालेर भारतमा नै महामारीको दोस्रो लहर शुरू भएको तथा खोप उत्पादक सेरम इन्स्टिच्यूटमा आगलागी भएका कारण खोप आउन रोकिएको जनाएको छ । यता स्वास्थ्य मन्त्रालयले पनि आजै एक विज्ञप्ती जारी गर्दै हुकुमकै शव्द सापटि लिंदै तत्काल ५० लाख कोभिशिल्ड खोप खरिद गर्ने अवस्था नरहेको जनाएको छ । तर सुरज बैद्य–विजय दुगडको यो कम्पनीले निकालेको विज्ञप्तिमा उल्लेख भएका जिकिरहरुबाटै कमिसनका कारण खोप आयात प्रभावित भएको पुष्टि हुन्छ । भारतमा कोरोना बढे पनि नेपाली बिचौलियाले चलखेल नगरेको भए सम्झौता हुन सक्थ्यो । त्यो खोप चाँडो नेपाल आउँथ्यो पनि । तर सरकार यस्ता कुकृत्यप्रति किन मौन छ ? के सरकार नै उनीहरुको संरक्षणमा लागेको हो ?

अहिले विश्वका अधिकांश मुलुकहरुले आफ्ना सबैजसो नागरिकलाई खोप दिएर सुरक्षित बनाईसकेका छन् । भारत र चीनमा उत्पादन भएका खोप लगाएर टाढा टाढाका मुलुकहरु सुरक्षित भइसकेका छन् । तर हामी महामारीको मध्यभागमा खोप अभियान नै स्थगित गरेर हातमाथि हात राखेर बस्न विवस छौं । किनभने यहाँ त सरकार नै विचौलियाको संरक्षणमा लागेको छ । अनि विचौलिया कमिशनको पछि लागेका छन् ।