कोरोना विशेष

संकटका नायक महावीर, स्वास्थ्य उपकरण र अक्सिजन सिलिण्डर निर्माणमा व्यस्त


काठमाडौँ – कोरोना महामारीमा समाजका सबैजसो क्षेत्र अस्तव्यस्त हुँदा स्वास्थ्य क्षेत्रका व्यापारीहरु कमाउ धन्दामा लागेका छन् । राजनीतिक दलहरु सत्ताको खिचातानीमा ब्यस्त छन् । तर दानकै भरमा चलेको महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र भने महामारी नियन्त्रणमा सहयोग पुर्याउने कार्यमा व्यस्त रहेको छ ।

कोरोनाको दोस्रो लहरले देश यति बेलो आक्रान्त बनेको छ । संक्रमितहरु अस्पतालमा वेड नपाँउदा र उपचार अभावमा मृत्युवरण गर्न बाध्य छन् । संक्रमणको दर यस्तै रहे केहि समयमै अत्यावश्यक औषधि र अक्सिजन को अभाव हुन सक्छ । तर नेताहरु सत्ता स्वार्थमै व्यस्त छन भने विचौलियाकै कारण खोप खरिद प्रक्रिया समेत अन्यौलमा परेको छ । बिचौलिया र माफियाको जगजगी भएको बेला नेपालीले भएको खोप पनि लगाउन पाएका छैनन् ।

मुलुक समस्यामा पर्दा सबै मानिसहरु लुट धन्दामै लाग्छन् भन्ने पनि होइन । पहिलेको लहरमा झै यसपटकको लहरमा पनि राष्ट्रिय आविष्कार केन्द्र महामारी विरुद्धको लडाईमा जुटिरहेको छ । बुधबार किर्तिपुर स्थित आविष्कार केन्द्र पुग्दा युवा बैज्ञानिकहरु आफ्नो काममा व्यस्त थिए । उनीहरु यसपटकको कोरोनाको लहरमा अस्पतालहरुमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिने उपायको खोजीमा लागि परेका छन् ।

आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले सार्वजनिक रुपमा अक्सिजनका खाली सिलिन्डरहरु भए उपलब्ध गराई दिन आह्वान गरेका छन् । हिमाल आरोहीहरुसँग हुने सिलिन्डर समेत महामारीमा प्रयोग गर्न सकिने भन्दै त्यस्ता सिलिन्डर पनि पुनले आह्वान गरेपछि अहिलेकेन्द्रमा खाली सिलिन्डर जम्मा हुँदैछ । त्यसको व्यवस्थापन, मर्मत आदि कामहरु भइरहेका छन् ।

केन्द्रले घरमै विग्रिएर थन्किएका अक्सिजन कन्सन्ट्रेटर,विभिन्न अस्पतालको भेन्टिलेटर लगायतका सामग्रीको समेत निशुल्क मर्मत गरेका सहयोग गर्दै आएको छ । त्यस्तै कोरोनाका गम्भिर संक्रमितको लागि आवश्यक हाई फ्लो अक्सिजनका लागि दुई सिन्डिन्डरबाट एउटै विरामीलाई अक्सिजन दिने उपाय केन्द्रले विकास गरेको छ । यसका लागि आवश्यक हाइ फ्लो नजल क्यानेला नामक प्रविधि महँगो हुने र स्रोत व्यवस्थापन गर्न कठिन हुने देखिएकोले केन्द्रले यस्तो उपाय निकालेको हो । त्यस्तै केन्द्रले कम सिलिन्डरबाट बढी बिरामीलाई कसरी अक्सिजन दिन सकिन्छ ? भन्ने उपायको खोजी गरेको छ ।

कोरोनाको अघिल्लो लहरको बेला आविष्कार केन्द्रले पिपिई, फेस सिल्ड, स्वाब कलेक्सन बुथ, एरोसेल बक्स, भेन्टिलेटर, युभिसी डिसइन्फेक्सन बक्स, नर्सिङ रोबोट, स्वाब संकलन गर्ने सुइरो नसल स्वाब, डेड बडी बक्स र मास्कका लागि चाहिने फेब्रिकलगायत स्वास्थ्य उपकरणहरू बनाएको थियो । विभिन्न १३ प्रकारका सामाग्री उत्पादन गरेर अस्पतालहरुलाई सित्तैमा बाँडेको केन्द्रले अहिले पनि यस्ता सामग्रीको निशुल्क वितरण गरिरहेको छ । देशका सरकारहरुले नेताका प्रतिष्ठानलाई सर्प पाल्न करोडौं अनुदान दिन्छन् । काठमाडौं महानगरले मदन भण्डारी फाउन्डेसनलाई करोडौं दिन्छ । तर आविष्कार केन्द्र सर्वसाधारणको दानबाट चलिरहेको छ ।