समाज

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन


काठमाडौँ – बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि काठमाडौँस्थित न्यूरो अस्पताल भर्ना गरिएका उहाँको दिउँसो साढे १ बजे ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियोे । विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिनुएका उहाँका प्रधानका चर्चित गीतहरुमा ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत छन् ।

प्रधानको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको पारिवारिक स्रोतले जनाएको छ । प्रधानका दुईवटा छोराहरु अमेरिकामा छन् ।

सात सयभन्दा बढी गीत रेकर्ड गराएका प्रधान सानैबाट संगीतमा लागेका थिए । उनको रेडियो नेपालमा पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ थियो । उहाँलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।