मनोरञ्जन

हास्य कलाकार मदनकृष्ण फेरि अस्पताल भर्ना

योहो संवाददाता

काठमाडौं – वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको अक्सिजन लेवलमा कमी आएपछि उहाँलाई पुनः अस्पताल भर्ना गरिएको छ ।
श्रेष्ठका छोरीको सराना श्रेष्ठको अनुसार उहाँलाई अस्पतालबाट ल्याएको भोलीपल्ट नै फेरि भर्ना गर्नु परेको हो । उहाँलाई आठ दिन अस्पतालमा उपचारपछि गएको आइतबार मात्रै घर फर्किइएको थियो । “बुवा डिस्चार्ज भएर घरमा एक रात मात्रै बस्नुभयो,” सरानाले भनिन्, “अक्सिजन लेवल ८४ मा झरेपछि भोलिपल्ट नै फेरि अस्पताल लग्नुपर्‍यो र अब अझै केही दिन अस्पतालमा राखेर उपचारमा बस्नुहुन्छ ।”

सरानाले बुबा मदनकृष्णका लागि दोस्रोपटक अस्पताल भर्ना गराउन निकै समस्या परेको बताएकी छिन् । “बुवालाई दोस्रोपटक अस्पताल भर्ना गराउन निकै गाह्रो भयो । हामीले एम्बुलेन्सलाई बिहान १०ः३० तिर फोन गरेका थियौँ, आउँदा ३ः३० भइसकेको थियो,” उनी भन्छिन्, “कारण, बेड मिलाउन त्यत्रो समय लागेछ । कति ठाउँमा कुरा गर्दा बल्ल मिल्यो । बुवाको लागि त बेड मिलाउन यस्तो गाह्रो भयो भने बाँकी सर्वसाधारण अनि विपन्न वर्गका लागि झन् कस्तो गाह्रो भइरहेको होला, सम्झेरै डर लाग्छ ।”

कलाकार श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन देखिएकाले चिकित्सकले केही दिन अस्पतालमै राखेर उपचार गर्ने निर्णय लिएको सरानाले जानकारी दिइन् । परिवारका बाँकी सदस्य छोरा यमन, बुहारी रिंकु र छोरी सरानाको स्वास्थ्यमा भने पहिलेभन्दा धेरै सुधार भइसकेको उनले बताइन् ।

“बुवाबाहेक हामी सबैलाई अहिले धेरै निको भइसकेको छ । दोस्रो परीक्षण पनि गराउने सोचमा थियौँ । तर, बीचमै बुवालाई फेरि अस्पताल लग्नुपर्‍यो । त्यसैले अब केही दिनमा मात्रै दोस्रो परीक्षण गराउँछौँ । सम्भवतः मचाहिँ बुवालाई निको भएपछि मात्रै गराउने सोचिरहेको छु,” उनले भनिन् ।

“कोरोनासँग फाइट गर्न साह्रै गाह्रो हुनेरहेछ,” उनले थपिन्, “यसले कसैलाई पनि छोड्दैन । त्यसैले सबैजना सुरक्षित हुनुहोला ।”

जटिल परिस्थितिमा साथ दिने सबैप्रति उनले आभार व्यक्त गरिन् । “यस्तो समयमा पनि हामीलाई खानेकुरा ल्याइदिएर हुन्छ कि, फोनमार्फत सन्चोरबिसन्चो सोधेर हुन्छ कि, छरछिमेकी, साथीभाइ, आफन्तहरुले यति धेरै माया दिनुभएको देखेर एकदमै भावुक हुन्छु म त । हामीले यति धेरै माया पाउनुको कारण भनेकै बुवा नै हो ।”

मदनकृष्ण हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा अक्सिजनको सपोर्टमा छन् । यद्यपि, उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको सरानाले बताइन् ।

पूरै परिवारलाई नै कोरोना संक्रमण भएको मदनकृष्णले वैशाख ६ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । उनीहरु होम आइसोलेसनमा थिए । तर, छातीमा सामान्य समस्या देखिएपछि उनलाई पहिलोपटक वैशाख १० गते मेडिसिटी अस्पताल लगिएको थियो । आठ दिनको उपचारपछि उनी घर फर्किएका थिए ।