कोरोना विशेष

चौरमा जलाउन थालियो कोरोना संक्रमितको शव : यस्तो दृश्य देखियो पशुपतिनाथ परिसरमा (भिडियोसहित)


काठमाडौँ – जुन दृश्य देख्न नपरोस भनि कामना गरियो, आखिर त्यही दृश्य देख्न र भोग्न विवश बनेका छौँ । आज त पशुपति क्षेत्रको चौरमा यी ७/८ वटा लास मात्रै एकै पटक जल्नु परेको छ । यस्तै दुरावस्था रहे थाहा छैन, यहाँका यी खाली जमिनहरुमा पनि लास पोल्न ठाउँ पाइन्छ की पाइँदैन ।

केही दिन अघि भारतमा सयौँ लासहरु चौर चौरमा पोलिएको दृश्य देखाउँदै हामीले भनेका थियौँ कतै नेपाल पनि यस्तै अवस्थामा आउने त हैन ? यो भय उत्पन्न भएको एक हप्ता वित्न नपाउँदै नेपालमा यस्ता दृश्यहरु देख्न थालिएको छ । लास जलाउन चिता त बनाइएको छ तर यहाँ हिन्दु सस्कार अनुसार न विधि पुर्याइएको छ, न छन् न जल्दै गर्दा शोकको आँशु झारिदिने छेउमा कोही परिवारजन नै छन् । चितामा अस्पतालबाट जसरी शवलाई र्याप गरि ल्याइएको छ त्यसरी नै सिधै चितामा राखीएको छ । र जलाइएको छ ।

पशुपतिको छेवैमा रहेको विद्युतीय शवदाहगृहमा अहिलेसम्म कोरोनाबाट मृत्यु भएकाहरुको लास जलाउने गरिएको थियो । दैनिक १५ वटासम्म लास जलाउने यहाँ पालो पाइन छाडेपछि यसरी खोलाकिनारमा चौरमा जलाउन थालिएको छ ।

यो कोरोनाले ल्याएको बाध्यता हो । दर्शकवृन्द दशा बाजा बजाएर आउँदैन भनिन्छ, तर यो महादशा एक पटक होइन, भर्खरै होइन, वर्षदिन अघिदेखि पटक पटक सुचना दिएरै आएको हो । र पनि हाम्रो गैरजिम्मेवारपनले यो स्थीतिको विकास गरेको छ । भारतमा जस्तै नेपालमा पनि पशुपति क्षेत्रमा यसरी नै शवहरुको लस्कर लाग्ने अवस्था सुरु भएको छ । हामी भन्न नचाहँदा नचाहँदै पनि यसो भन्न विवश भएका छौँ की अब लास पोल्ने ठाउँ र दाउराको अभाव हुन सक्छ । भारतमा झैँ नेपालमा कुन लास कस्को हो चिन्न मुस्कील पर्न सक्छ । काठमाडौँ लास पोलेको धुवाँले कुइरमण्डल हुन सक्छ । जस्तो भारतको दिल्ली र अरु राज्यहरुमा देखिएको छ ।

त्यसैले सरकार यतिबेला लास पोल्ने ठाउँ कहाँ कहाँ हुनसक्छ भनेर खोज्दै हिड्नु भन्दा अक्सीजन, आइसीयु, र भेण्टीलेटरको व्यवस्थापन कसरी गर्ने भन्ने तर्फ अघि बढ्नु पर्ने हो । तर राज्यका सारा सयंन्त्र कहाँ छ पत्तो छैन, सरकार हाँक्ने र नेता भनिएकाहरु सत्ताको खेलमा छन्, जनताले आफ्नो भौतिक शरिर तिलाञ्जली दिने ठाउँ समेत पाउन गाह्रो परेको छ ।

कोरोनाका कारण श्रृजना भएको यो पहिलो हृदयविदारक दृश्य हो । जुन नेपालमा सुरु भएको छ । घरमै सुरक्षित रहौँ, सचेत रहौँ र थप भयंकर दृश्यको साक्षि बन्न नपरोस, कामना गरौँ ।