लुम्बिनी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा


काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाउनु भएको हो ।
नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले मुख्यमन्त्रीले राजीनामा दिनुभएको जानकारी गराउनुभयो । मुख्यमन्त्री पोखरेलले धारा ७९, १ को क अनुसार नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न भन्दै राजिनामा दिएको प्रदेश प्रमुखको कार्यलयले जनाएको छ । संसदीय दलको आइतबार बिहान बसेको बैठकमा उहाँले दुई दलको सरकार भएकाले राजीनामा दिएको र अब ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री नियुक्त हुने बताउनुभएको छ । उहाँले एक महिनाभित्र विश्वासको मत लिने पनि बताउनुभएको छ ।
जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत रहेको छ । लुम्बिनी प्रदेशमा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १८, जसपाका २ र राजमोका १ सांसद रहेका छन् । यसैबीच, लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज शुरु हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध बैशाख ६ गते कांग्रेस, माओवादी र जसपाका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएपछि विशेष अधिवेशन आह्वान भएको हो । हस्ताक्षर गरेका मध्ये जसपाका चार सांसद मन्त्री बनेपछि चारै जना पदमुक्त भएका छन् ।