राजनीति

माओवादी स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने एक नेताले जानकारी दिनुभयो ।

आजको बैठकमा पार्टीको विधान संशोधन, प्रदेश २ मा रिक्त रहेको एक समानुपातिक सांसदको नियुक्तिसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी स्रोतले जनाएको छ ।

ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र प्रदेश २ ले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वालाकुमारी साह र मोहम्मद समिरलाई चैत ३० गते पदमुक्त गर्न सिफारिस गरेको थियो । मंगलबारको बैठकले रिक्त समानुपातिक प्रदेश सांसद नियुक्तिको सिफारिस गर्न लागेको हो ।

प्रत्यक्ष निर्वाचित सांसद पदमुक्त भएपछि रिक्त पदमा उपनिर्वाचन गराउनुपर्छ तर समानुपातिकको हकमा भने बन्द सूचीमा दोस्रो नम्बरमा रहेका उम्मेदवारलाई चयन गरिने व्यवस्था छ ।