समाज

पर्सिसम्म मात्रै हिडडुल गर्न पाइने


काठमाडौँ – सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना संक्रमणको स्थिति गम्भिर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने बताउनुभयो ।

सोमबार काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तिमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो । कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पनि पराजुलीले बताउनुभयो ।

आगामी १६ गते विहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्म निषेधाज्ञा लागु हुने निर्णय भएको छ । लकडाउन गर्नु भन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भएपनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भिर बनेको ठहर प्रशासनको छ । त्यसैले थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

यसैविच, त्रिभुवन विश्विविद्यालयले अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले दोस्रो लहरको कोरोना संक्रमणको कारण देखाउँदै स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।