कोरोना विशेष

लकडाउन गर्न सीसीएमसीको सुझाव


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले कोरोना संक्रमण उच्च रहेको ठाउँहरुमा लकडाउन गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोनाको बढ्दो जोखिमबारे छलफल गर्न सरोकारवाला पक्षहरुसँग शनिवार साँझ गरेको छलफलमा सीसीएमसीले त्यस्तो सुझाव दिएका हुन् ।

छलफलमा सीसीएमसीका निर्देशक समितिमा आवद्ध उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा थियो ।

बैठकमा सरकारले बैशाख ६ गते जारी गरेको आदेश कतैबाट पनि पालना नभएकोबारे चर्चा भएको थियो । सरकारी आदेश र निर्णयको कार्यान्वयन नहुँदा जोखिम बढ्ने भन्दै विभिन्न विकल्पहरुका बारेमा छलफल भएको थियो ।

यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने र कार्यालयमा आधा कर्मचारी मात्र राख्ने प्रावधानमा जानुपर्ने हुनसक्ने सरकारी कर्मचारीहरुले बैठकमा प्रधानमन्त्री समक्ष सुझाव राखेका छन् । सीसीएमसीका सदस्यले प्रधानमन्त्री ओलीलाई कोरोनाका ‘हटस्पट’हरूमा नेपालगन्जमा जस्तै कडाइ गर्नुपर्ने सुझाव दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) सहित पर्सा, कास्की, दाङ, बाँके र रूपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ । ठूला सहरहरूमा तत्काल बन्दाबन्दी नगरे अवस्था भयावह हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिइएको एक मन्त्रीले जानकारी दिनुभयो ।