समाचार

भूमी व्यवस्था तथा अभिलेख विभागमा आगोलागी : ६ सिलिण्डर पड्कीयो, के के क्षति भयो ?


काठमाडौँ – काठमाडौँको बबहरमहलस्थित भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आगोलागि भएको छ ।
साँझ करिव ७ बजे आगोलागि भएको हो । आगोलागीबाट विभागको स्टोरमा राखिएका महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन् । भूमि सम्वन्धी वर्षाैँ पुराना कागजातहरु जलेर नष्ट भएको विभागले जनाएको छ । आगोलागीबाट कम्प्युटरदेखि महत्वपूर्ण उपकरण र भौतिक सामग्री जलेर नष्ट भएको छ ।

आगोलागी के कारण भएको खुल्न नसकेपनि स्टोरमा राखीएका ६ वटा खाना पकाउने ग्याँसका सिलिण्डर समेत विस्फोट भएको छ । एलपी ग्यासका कारण आगोले ठूलो रुप लिएको अनुमान गरिएको छ । आगोलागीको केहीबेरमै दमकल घटनास्थल पुगेको थियो । अग्नी नियन्त्रक, नेपाली सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त वानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
आगोलागीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । शनिवार कार्यालय वन्द रहेको समयमा भएको आगोलागी असामान्य देखिन्छ । यसबारे आवश्यक सोधपुछ गर्ने विभागका निर्देशक घिमिरेले जानकारी दिनुभयो ।

आगोले कार्यालयको मुख्य भवनमा खासै क्षति पुर्याउन पाएको छैन । साँझ करिव ९ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । क्षतिको पूर्ण विवरण भोली मात्रै थाहा हुने विभागले जनाएको छ ।