राजनीति

माधव नेपालले ग्रिन सिग्नल दिएपछि सरकार ढाल्न देउवा अघि बढे : यस्तो बन्न सक्छ समीकरण


काठमाडौँ – नेकपा एमालेभित्र सहमतिभित्रको प्रयास विफल भएपछि माधव नेपाल पक्ष प्रधानामन्त्री ओलीसंग थप चिढिएका छन् । त्यसो त यसको सिधा फाइदा नेपाली काँग्रेसले लिने देखिएको छ । एमाले लडाइँका कारण चुपचाप रहेको नेपाली काँग्रेस माधव पक्षले साथ दिने संकेत पाएपछि पुनः ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अघि बढेको छ ।

नेकपा एमाले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको पेलानमा परेका माधव नेपाल र वामदेव गौतमबीच शुक्रबार झण्डै २ घण्टा वार्ता चल्यो । उनीहरुबीच ओलीको एकलौटी प्रवृद्धिको भण्डाफोर गर्नेमात्र होइन, नेपाली कांग्रेसलाई साथ दिएर ओली सरकार ढाल्ने सम्मको गोप्य योजना बनेको बताइन्छ ।

गौतमसँगको भेटपछि नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउन र त्यसलाई सफल बनाउन आफूहरू तयार रहेको प्रतिवद्धता जनाएको स्रोतको दाबी छ । त्यसो त गत साता नै नेपाल र झलनाथ खनालले देउवानिवास नै पुगेर अविश्वासको प्रस्ताव ल्याउन आग्रह गरेका थिए । नेपाल समूहको साथ पाउने भएपछि नेपाली कांग्रेसले भित्रभित्रै अविश्वासको प्रस्तावको लागि सांसद्हरूको हस्ताक्षर संकलन गरिरहेको देखिन्छ ।

जनता समाजवादी पार्टीले ओलीलाई नै साथ दिने भएपछि देउवा नयाँ सरकार गठनको किचलोबाट पछि हटेर मंसिरमा निर्वाचन गराउने पक्षमा पुगिसकेका थिए । तर एमालेभित्रको किचलो बढ्दै जाँदा र नेपाल समुह नै ओली सरकार ढाल्ने पक्षमा खुल्ला रूपले गृहकार्यमा लागेपछि देउवा उत्साही देखिएका छन् । उनले आफूनिकटहरूसँग पनि अब भने सरकारविद्ध अविश्वासको प्रस्ताव पेश गर्ने वातावरण बनेको बताउन थालेका छन् ।

कांग्रेस, माओवादी र नेपाल समुह एक भएमा जसपाको साथ नपाए पनि ओलीलाई हटाउन सकिने कांग्रेसको बुझाइ छ । निर्णायक मोडमा राजपाभित्रको बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले पनि फ्लोर क्रश गर्न सक्ने कांग्रेसको बुझाइ रहेको छ । माधव पक्षीय नेता भीम रावलले पनि ओली नसच्चीए निर्णायक कदम चाल्ने बताएका छन् । कतै त्यो निर्णायक कदम भनेको काँग्रेसको बुझाई अनुसार नै त हैन भन्ने आँकलन गरिएको छ ।

कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउने वातावरण बनेको भन्दै हस्ताक्षर अभियान नै चलाएपछि माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्तावको तयारी गरेको कांग्रेसलाई सघाउने भएको छ ।

ओलीले हाल संसद्को जारी अधिवेशन अन्त्य गरेकोले विशेष अधिवेशन बोलाउन पहल गर्ने र विशेष अधिवेशन सम्भव नभएमा वर्खे अधिवेशनको सुरूवातमै ओली सरकारलाई विदाई गरेर नयाँ सरकारले नै बजेट ल्याउनेगरी तयारी थाल्ने विषयमा देउवा, प्रचण्ड र नेपाल सहमत भएका छन् ।

संसद् भंग गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यतिबेला ओलीविरूद्ध संघर्ष गरेको जसपा अहिले ओलीलाई समर्थन गर्ने कि विकल्प खोज्ने भन्ने विषयलाई लिएर विवादमा फसेको छ । पार्टीभित्रका महन्थ ठाकुर र राजेन्द्र महतो समूह ओलीे नै मधेशका माग पूरा गर्न तयार रहेकोले उनैको सरकारलाई सघाएर अगाडि बढ्नुपर्ने पक्षमा छन् । तर भट्टराई र यादव समूह भने ओलीको विकल्प खोज्नुपर्ने लाइनमा उभिएका छन् ।

एमालेको पछिल्लो विवादले नेपाल समूह नै ओलीको साथमा नरहने अवस्थामा ओलीलाई समर्थन दिनेबारे ठाकुर र महतोले पनि पुर्नविचार गर्ने अवस्थामा पुगेको बताइन्छ । त्यसैले देशको राजनीतिक माहोल ओलीको विपक्षमा अघि बढ्ने सम्भावना बलियो बनेको छ ।