राजनीति

जसपा एकताको एकबर्ष : महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई साथ दिन अघि बढेपछि उपेन्द्र यादवले माइन्युट कब्जामा लिए

विभाजनको औपचारिक घोषणा हुन बाँकी


काठमाडौँ – संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) सत्ता समीकरणमा अहिले निर्णायक शक्तिका रुपमाछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जोगाउने कि हटाउने भन्नेमा जसपा नै निर्णायक हुने देखिएको छ । तर एकता भएको एकवर्षपछि गठबन्धनकै विषयलाई लिएर जसपा फुटको डीलमा उभिएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर एक वर्षअघि वैशाख १० गते मध्यराति जनता समाजवादी पार्टी गठनको घोषणा भएको थियो ।बैशाख ८ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर समाजवादी पार्टी फुटाउने कसरत गरेपछि डा बाबुराम घट्टराई र उपेन्द्र यादवले पार्टी जोगाउन रातारात राजपासँग पार्टी एकता गरेका थिए ।

वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्घोषसहित एकता गरिएको जसपामा राजपाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरे भने समाजवार्दी पार्टीको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरे । तर, एकता घोषणाको पहिलो वार्षिकोत्सव मनाउनुपर्ने दिनमै जसपा अहिले विभाजनको औपचारिक घोषणा गर्ने अवस्थामा पुगेको छ ।प्रधानमन्त्री ओलीको वर्तमान सरकार टिकाउन र हटाउन निर्णायक शक्तिका रुपमा रहेको जसपामै सत्ता समीकरणकै विषयलाई लिएर दुई धार देखिंदा फुटको अवस्थमा पुगेको हो ।
दुई धारमा विभाजित जसपालाई कुनै पनि दिन औपचारिक रूपमा नै फूटको घोषणा हुन सक्ने आकलन गरिएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै मधेशको मुद्दा हाताहाती सम्बोधन गर्ने भनिरहेकाले उनलाई साथ दिनुपर्ने तत्कालिन राजपाका नेताहरु बताउने गरेका छन् । अर्कातर्फ ओली सरकारलाई पार्टीले निर्णय नै गरेर प्रतिगमनकारी भनेकाले ओलीसँग कुनै पनि हालतमा सहकार्य नगर्ने बरु सत्ता गठबन्धन गरेर वैकल्पिक सरकार दिनुपर्ने तत्कालिन समाजवादी पार्टीको राजनीतिक लाइन छ । तर यसलाई नेताहरु पार्टीभित्र मतभेद रहनु सामान्य भएको भन्दै पन्छाइरहेका छन् ।

जसपाको विवाद भित्रभित्र यति उत्कर्षमा पुगेको छ कि पार्टी अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको माइन्युट नै कब्जामा लिएका छन् । अर्काे समुह वालुवाटारमा प्रधानमन्त्रीसँगको संवादलाई निरन्तरता दिइरहेका बेला यादव समूह बहिष्कार गर्दै आएको छ । तथापी पार्टी एकता जोगाई राख्ने नेताको विश्वास पनि कायमै देखिन्छ ।
सत्ताको ललिपपभन्दा मुद्दाको विषय गरुंगो बनाएकामहन्थ ठाकुर र राजेन्द्र महतो समूह अन्ततोगत्वा सत्तारोहणमै समेटिने देखिन्छ । यो समूह सत्तामा गए भट्टराई, यादव समूह त्यसलाई नस्वीकार्ने अडानमा छ । जस्ले संसद्मा चौथो स्थानमा रहेको जसपालाई आफ्नो अस्थित्व कायम रख्न हम्वेहम्वे परिरहेको छ ।