Uncategorized

कोरोनाको दोस्रो लहर आक्रामक बनेपछि सांसदहरुले गराए सरकारको ध्यानाकर्षण



काठमाडौँ – कोरोनाको दोस्रो लहर आक्रमक रुपमा बढेपनि नियन्त्रणको कदम चाल्न सरकारले उदासिनता देखाएको भन्दै सांसदहरुले आपत्ती जनाएका छन् । सरकारले संक्रमण नियन्त्रणमा उचित कदम चाल्नुपर्ने भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

सांसदहरुले कोरोनाको दास्रो लहर तीव्र गतिमा फैलिएको भएपनि यसको रोकथाम, न्यूनीकरण तथा व्यवस्थापनको काममा सरकारले उदासिनता देखाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कोरोना भाइरसको बढ्दो संक्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको छलफलमा सांसदहरुको यस्तो प्रतिक्रिया आएको हो ।

कोरोनाको अघिल्लो लहरमा भएका कमीकमजोरी र अनुभवहरुबाट पाठ सिकेर अघि बढ्नुपर्ने भएपनि हालसम्म कोभिड–१९ को व्यवस्थापनको सम्बन्धमा सरकार पहिलेकै अवस्थामा रहेको सांसदहरुको भनाई थियो ।

सांसद अञ्जना विशंखेले दिर्घकालीन रोगका विरामीहरुका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्नुपर्ने बताईन । विगतमा क्वारेन्टिनका खानाका कारण समस्या भएको भन्दै आगामी दिनमा सुधार्नुपर्ने उनको जोड थियो । कोरोना नियन्त्रणका लागि तीन तहका सरकारबीचमा समन्वय हुन नसकेको उनको भनाई थियो ।

सांसद सरिता न्यौपानेले स्वाव संकलन, यातायात र भण्डारणमा समस्या भएका कारण यथार्थ रिपोर्ट आउन नसकेको भन्दै त्यसतर्फ सरकारले ध्यान जानुपर्नेमा जोड दिईन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोरोना संक्रमणदर वृद्धि भएसँगै काठमाडौं उपत्यकामा २ हजार आइसोलेसन बेड सञ्चालनमा ल्याइएको बताए. ।

केन्द्र सरकारले २ सय वटा भन्दा बढी भेन्टीलेटर जोडेको तथा प्रत्येक प्रदेशले ३० देखि ५० वटा भेन्टीलेटर किनेर राखेको पनि उनको भनाई छ । यस्तै आवश्यक औषधी र अक्सिजन भारत अथवा बंगलादेशबाट ल्याउने तयारी पनि भईरहेको छ ।

छलफलमा सरोकारवालाहरुले अहिलेको अवस्था गम्भिर भएकाले लकडाउन गर्दा भोलिको दिनलाई विचार पनि गर्नुपर्ने बताएका छन् । जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गराउन सकेमात्रै अहिलेको संकटलाई टार्न सकिने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।