राजनीति

ओली–नेपाल भेटवार्ता सकियो, छलफल सकारात्मक


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि भेटवार्ता भएको छ । करिब डेढ महिना लामो संवादहीनता तोडदै दुवै नेताबीच बुधबार काठमाडौंको नक्साल स्थित होटल मेरियटमा भेटवार्ता भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच सोही होटलमै करिब डेढ घण्टा कुराकानी भएको छ ।

कुराकानी सकारात्मक रहेको प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले बताउनु भयो । आफू दुई नेता बीचको वार्तामा नबसेको भएपनि वार्ता पछि दुवै नेताहरु प्रफुल्ल भएर निस्किएको देखिएकोले वार्ता सकारात्मक भएको अनुमान गर्न सकिने उहाँले बताउनुभयो ।

वार्ता सकारात्मक भएको र अव फेरी पनि एक दुई दिनमा वार्ता हुने दुगडले बताउनुभयो । एमाले विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला पार्टीका प्रमुख दुई नेताबीच बुधबार यता दोस्रोपटक भेटवार्ता भएको हो ।