राजनीति

ओलीको माधवलाई अहिलेसम्मकै कडा डण्डा : माधव पक्षीय सांसद पद माया मार्ने कि ओलीतिर जाने ?

ओलीसंग आत्मसमर्पण गर्दैनौँ, बरु अदालत गईन्छ


काठमाडौँ – एमालेभित्रको लडाइँ थप नयाँ चरणमा प्रवेश गरेको छ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका २७ प्रतिनिधिसभा सांसदलाई स्पष्टीकरण सोधेपछि माधव नेपाल पक्ष थप रक्षात्मक अवस्थामा पुगेको छ ।

कर्णाली प्रदेशको फ्लोर क्रसको राजनीतिले एमाले भित्र भइचालो गएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली माधव पक्षसंग थप आक्रामक बनेको छ । कर्णाली जस्तै स्थिति प्रतिनिसिधसभामा पनि देखिने डरले ओलीले माधव पक्षका सांसदहरुलाई भट्टाभट कारवाही गर्ने, निलम्बन गर्ने र आफू सुरक्षित हुने बाटो अख्तियार गरेका छन् । मंगलबार मात्रै ओलीले संसदीय दलको नेताको हैसियतमा माधव पक्षका २७ जना सांसदलाई तपाईलाई सांसद पदबाट किन निलम्बन नगर्ने भन्दै स्पष्टीकरण सोधेका छन् । जवाफका आधारमा उनीहरुलाई सांसद पदबाट निलम्बन गर्ने ओलीको तयारी देखिन्छ । एउटै पार्टीभित्र रहेर माधव पक्षका सासंदहरुले फरक पार्टीको अभ्यास गरेको ओली पक्षको दावी छ ।

स्पष्टीकरण सोधिएका नेताहरुले एमालेको नाम र निर्वाचन चिन्ह सूर्यको दुरुपयोग गरी पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक विचारधारा, दर्शन र कार्यक्रमभन्दा भिन्न गतिविधि सञ्चालन गरेको र नयाँ राजनीतिक दल गठन गर्नुअघि संगठनात्मक आधार खडा गर्न भेला गर्दै हिँडेको अध्यक्ष ओलीको आरोप छ । अधिकांश सांसदलाई काटिएको पत्रमा भने पार्टी एकता विरोधी प्रस्तावमा किन संलग्न भएको भनेर प्रश्न सोधिएको छ ।

पार्टी निर्णयको उल्लंघन गरेको, नयाँ राजनीतिक दलको स्वरुपमा पार्टी विरोधीहरुसँग साँठगाँठ गरेको भन्दै पत्रमा सोधिएको छ, तपाईंलाई विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम किन करबाही नगर्ने ? यसअघि ६ महिनाका लागि निलम्बन गरिएका माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बनपछि पनि पुनः त्यही गतिविधि किन दोहो¥याएको भनेर सोधिएको छ । साथै कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न निर्देशन दिएकाले पार्टी वा संसदीय दल परित्याग गरेको किन नभन्ने भनेर सोधिएको छ ।

चेतावनीपूर्ण खरो प्रश्न तेर्सिएपछि माधव पक्षको सांसदहरुको आकस्मीक भेला बसेको छ । बानेश्वरको अर्याल होटलमा बसेको भेलामा सांसदहरुले स्पष्टीकरणको जवाफ वा आगामी प्रतिकारको तयारी के हुने भन्ने बारे छलफल गरेका छन् ।

संसदको हिउँदे अधिवेशन नै अन्त्य गरेर ओलीले माधव पक्षलाई सांसद पद जोगाउने कि कारवाही भोग्ने ? भन्दै बाध्यताको कठोर चेपुवामा पारेका छन् । ओलीको यो स्पष्टीकरण अब एमाले औपचारिक रुपमै विभाजनका लागि ठूलो कडि हुने अनुमान गरिएको छ । किनकी माधव पक्षका सांसदहरु ओली सामू झुकेर नभई पेलेर जाने नीतिमा छन् ।

नेकपा एमालेभित्रको रडाको अलि अलि गर्दै अब समाधान नै नहुने दलदलमा फसिसकेको छ । अहिलेकै अवस्थामा हेर्ने हो भने ओलीका अगाडी माधव पक्ष पुरै रक्षात्मक अवस्थामा पुगिसकेको छ । माधव पक्ष शिथिल अवस्थामा छ भने ओलीले एक पछि अर्काे गर्दै माधव पक्षलाई संसद देखि पार्टीकै मैदानबाट खाली गराउने गरि पेलाइमा पारिसकेका छन् ।