राजनीति

ओलीको कानुन जनताका लागि मात्रै हो ? (भिडियोसहित)

कोरोना बालुवाटार किन छिरेन ?


काठमाडौँ – सरकारले कोरोना पुन फैलिएको भन्दै अनेक नियम बनाएर जनतालाई सचेत रहन आग्रह गरिरहेको छ । तर प्रधानमन्त्री देखि जिम्मेवार अधिकारीहरु आफैले बनाएको नियमलाई धज्जी उडाउँदै मनोपरी कार्यक्रम आयोजना गर्दै गैरजिम्मेवार बनिरहेका छन् ।

प्रधानमन्त्री ओलीकै अध्यक्ष्तामा बसेको हिजोको मन्त्रिपरिषदको बैठकले २५ जनाभन्दा बढि भेला हुन नपाउने निर्णय गरेको थियो । त्यही नियम तोड्ने पहिलो व्यक्ति हुन् उनै प्रधानमन्त्री केपी शर्मा ओली । आफैँ नियम बनाउने अनि नियमको धज्जी उडाउने हर्कत ओलीले किन गरे त ?

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यकै उपस्थितिमा मङ्गलबार बिहानै बालुवाटारमा यस्तो भीड देखियो । ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ को आयोजना गरिएको त्यो भेलामा झण्डै एक सय भन्दा बढि मानिसहरुको सहभागिता थियो । आफो भीडभाड नगर्नु भनेर जनतालाई आदेश गर्ने अनि आफैँ यस्तो गतिविधिमा लागेपछि सम्माननीय ओलीलाई के भन्ने ? ओली मात्रै होइनन्, अन्य मन्त्रीहरु र सरकारका जिम्मेवार अधिकारीहरु यस्ता कार्यक्रममा व्यापक सहभागी भइरहेका छन् । भिभिआइपीले स्वास्थ्य मापदण्डलाई पालना गरेमात्रै जनताले त्यसको सिको गर्ने जनस्वास्थ्यविद्हरुको तर्क छ ।

सरकारी तथ्यांकले विशेषगरी काठमाडौं उपत्यकामा कोरोनाको जोखिम र संक्रमितको संख्या बढेको पुष्टि गर्छ । तर सर्वसाधारण देखि राजनीतिक उच्च पदमा रहेका व्यक्तिले नै विभिन्न बहाना बनाएर भीडभाड गर्न छाडेका छैनन् ।

सरकारले सार्वजनिक गरेको आदेशमा वैशाख मसान्तसम्म प्रार्थना बाहेकका धार्मिक समारोहहरू नगरिने भनिएको छ । तर, प्रधानमन्त्रीले उद्घाटन गरेको यो रथ यात्राका लागि बुधबार चितवनको देवघाटमा ८ सय र माडीमा १५ सय मानिसलाई भोजको व्यवस्था पनि गरिँदैछ । त्यसैले उच्च पदमा रहेकाहरु भन्ने एकथरी र गर्ने अर्कैथरी भएपछि जनताले कसरी भरोसा गर्ने ?