राजनीति

ओलीको धार्मिक मोह : अयोध्यापुरी नेपालमै हो भन्दा धार्मिक अभियन्तालाई किन आपत्ती ?

कम्युनिष्टलाई धर्म मोह,राजनितिक स्टन्ड कि वास्तविकता ?


काठमाडौँ – चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि पठाएका छन । प्रधानमन्त्रीले आफ्नै खर्चमा बनाएको मूर्तीलाई पूजापश्चात अलग अलग रथमा राखेर चितवन पठाइएको हो । जस्लाई धार्मिक अभियन्ताहरुले राजनीतिक स्टन्डका रुपमा टिप्पणी गरेका छन ।

चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजा गरि पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरुको पूजा गरेका थिए । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरि मूर्तिहरुलाई अलग अलग रथमा राखेर चितवन पठाइएको हो । त्यसअघि प्रधानमन्त्री निवासबाट सो रथयात्रा राष्ट्रपति कार्यालय पुगेको थियो । राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोह बीच प्रतिमा सहितको रथयात्रालाई विदाई गरेकी थिइन् ।

मूर्तीहरु भोली अयोध्यापुरीमा निर्माण गरिएको मन्दिरमा प्रााणप्रतिष्ठा गरेर राख्ने कार्यक्रम रहेको छ । तर सत्तामा संकट आउन थालेपछि धर्मको शरणमा पर्दै गएका ओलीको यो कदमप्रति धार्मिक अभियन्ताहरु नै खुसी देखिदैनन् ।


९० हिन्दु रहेको देशका प्रधानमन्त्रीले हिन्दुधर्मप्रति देखाएको सद्भाव सहि भएपनि उनका यस्ता कदम केवल राजनिति स्वार्थपूर्तीका लागि हुँदै आएको अभियन्ताहरुको आरोप छ । राममन्दिर निर्माण सहि भएपनि विना प्रमाण भावनामा बहिकिएर प्रधानमन्त्रीले अध्योयाको घोषणा गर्नु र त्यसै अनुरुप अघि बढ्नु सहि नभएको उनीहरु बताउछन । तत्थ्यबाट पुष्टि नभई हचुवाको भरमा हुने यस्ता क्रियाकलापले विश्वास र आस्थामाथि प्रभाव पर्ने तथा हिन्दुहरुका बीचमै फाटो ल्याउनसक्ने उनीहरुको आशंका छन ।

हिन्दुधर्मका ज्ञाता शालिकराम ढकाल भने सरकारको यो कदम सकारात्मक भएको बताउछन । धर्म निरपेक्ष राज्य भनिएपनि ठुलो हिस्सा ओगटेको हिन्दु धर्ममा राज्यको सदायता रहनु अन्यथा नभएको उनको बुझाई छ । धर्म नै मान्दिन भन्ने कम्युनिष्ट पृष्ठभूमीमा प्रधानमन्त्रीले गरेका यी कार्य पशुपतिनाथले दिएका सद्वुद्धिका रुपमा लिनुपर्ने उनको तर्क छ ।

हुन त प्रधानमन्त्री केपीशर्मा ओलीले अध्योध्यापुरी चितवनको माडीमा रहेको बारम्बार दोहो¥याउदै आएका छन । यसैको निरन्तरतका रुपमा रामसीता सहितका मूर्ती तामझामका साथ माडिमा स्थापना गर्नुलाई सामान्य मान्न सकिएला । तर सत्ता संकटका बीच हतार हतार पशुपतीमा जलहरी चढाउनु र यहि बीचमा माडिमा मूर्ती स्थापना गर्नुलाई संयोगमात्र मान्न सकिदैन । अर्कातर्फ धर्म निरपेक्ष राज्यका कम्युनिष्ट प्रधानमन्त्रीमा असाधारण रुपमा आएको परिवर्तनलाई सहज मान्न सकिएला त ?