समाचार

७७ सालको चैते दशैँ आज मनाइदै



काठमाडौँ – शक्तिस्वरूपा देवी भगवतीको पूजाअर्चना गर्दै आज चैते दशैँ मनाइदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन चैते दशैँ मनाउने परम्परा छ ।

दानवी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा शक्तिरूपा दुर्गा भवानीको उपासना गरी चैतेदसैँ मनाउने गरिन्छ । उपत्यकाका शक्तिपीठ गुहृयेश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, कालिकास्थान, सङ्कटा र मैतीदेवी मन्दिरमा देवीभागवत, कालिका पुराणलगायतका स्तोत्र पाठ गरिन्छ ।

त्यस्तै आज उपत्यका बाहिर वाग्लुङको बाग्लुङ कालिकामा बिशेष मेला लाग्ने गरेको छ भने गुल्मीको छत्रकोट देवालयमा पनि बिशेष पुजाआज गर्ने गरिएको छ । चैते दशैँमा घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ ।

वर्षमा दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । असोजमा मनाइने बडादशैँ भन्दा कम महत्वको मानिएपनि चैतै दशैँको दिन पनि देवीको मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । आज पनि बडा दशैंमा जस्तै दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ ।

शक्तिस्वरूपा भगवतीको आराधनाको महत्व सप्तशती चण्डी, देवीभागवत, कालिकापुराण आदिमा उल्लेख छ । चैत दशैंको दिन अशोकको फूल खानाले रोग आदि नाश हुन्छ भन्ने पनि विभिन्न शास्त्रमा उल्लेख भए अनुसार जनविश्वास रहीआएको छ ।

यस वर्ष तिथी पछाडि धकेलिदा २०७७ सालको चैते दशै आज परेको हो । जसले गर्दा यस वर्ष तीन वटा दशैँ परेको छ । विजया दशमी र अर्को चैते दशैँ पनि ७८ सालमै परेको हुनाले तीन वटा दशैँ हुन गएको हो ।