गण्डकी प्रदेश

ओलीको डिजाइनमा गण्डकीमा जनमोर्चा सांसद नै गायव

गण्डकी प्रदेशमा सत्तारुढ नेकपा एमालेले आफ्नो सत्ता जोगाउन र अविश्वासको प्रस्ताव गिजोल्न सांसदहरुलाई प्रभावमा पारेर कृत्रिम बिरामी बनाएको शंका गरिएको छ ।


काठमाडौँ – सरकार ढाल्न र बनाउने खेल सुरु भएपछि सांसदहरुको खरिद बिक्री खसीबोका झै भएका घटना नेपालमा पनि छन् । यसपटक चाहिँ गण्डकी प्रदेशमा दुई सांसदको खरिदबिक्री अलि पृथक देखिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रभावित पार्न राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही र कांग्रेसकी सांसद मनकुमारी गुरुङ एकाएक सम्पर्कविहीन भए । उनीहरु कहाँ गए ? भन्ने गण्डकी प्रदेश सभाले औपचारिक जानकारी पाएन । बुधबारबिहानको बैठकमा अविश्वासको प्रस्ताव उपर छलफल भयो । दिउँसो अर्को बैठक राखियो । दिउँसोको बैठकमा जनमोर्चाकै प्रमुख सचेतक रामपियारी थापाले आफ्ना सांसद सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न निवेदन दिइन् ।
अविश्वासको प्रस्ताव प्रभावित पार्न रचिएको चाल जस्तो देखिने ‘सांसद सम्पर्कविहीन काण्ड’ले नयाँ मोड त त्यतिबेला लियो जब सांसद शाही र गुरुङ दुवै जना पोखरास्थित चरक अस्पतालमा भेटिए । अस्पतालको दावीअनुसार दुवैजनालाई कोभिड-१९ भएको छ र दुवै संवेदनशील अवस्थामा छन् ।
अझै रहस्यमय त के भयो भने कोभिड-१९ भएर अक्सिजन लिइरहेका भनिएका खिमबिक्रम शाहीको कोरोना परीक्षण चाहिँ नेगेटिभ छ । कोरोना नै नभएका सांसदलाई जबर्जस्ती बिरामी बनाएर उपचार गराई रहेको जस्तो देखिन्छ । खिमबिक्रम शाहीको कोरोना परीक्षण रिपोर्ट नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि सार्वजनिक गरेका छन् । कोरोना नै नभएका सांसदलाई के आधारमा आइसियुमा राखेर उपचार गराई रहनु भएको छ ? भन्ने प्रश्नमा चरक अस्पतालका प्रबन्ध निर्देशकले सरकारी ल्याबको रिपोर्ट नेगेटिभ आए पनि निजी ल्याबमा पोजिटिभ देखिएकोले उपचार भइरहेको जानकारी दिए ।

गण्डकी प्रदेशमा सत्तारुढ नेकपा एमालेले आफ्नो सत्ता जोगाउन र अविश्वासको प्रस्ताव गिजोल्न सांसदहरुलाई प्रभावमा पारेर कृत्रिम बिरामी बनाएको शंका गरिएको छ ।