गण्डकी प्रदेश

गण्डकी प्रदेशसभाका तीन सांसदलाई कोरोना पुष्टि, मतदान भने गर्न पाउने


काठमाडौँ – गण्डकी प्रदेशसभाका तीन सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार तीन जना सांसदलाई कोरोना संक्रमण भएको हो ।

कोरोनाबाट संक्रमित हुनेमा सत्ताधारी एमालेका दुई र कांग्रेसका एक सांसद छन् । एमालेका राजिव पहारी र प्रभा कोइराला तथा कांग्रेसकी मनकुमारी गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै प्रदेशसभाका दुई जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश सभाको मंगलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको कोरोना परीक्षण गरिएको थियो । बैठकमा एमाले सांसदहरुले परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् । गण्डकी प्रदेशमा मुख्यमन्त्री हटाउने खेल चलिरहेको अवस्थामा आज अविश्वासको प्रस्तावमाथि मतदान हुँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव हालेका हुन् ।

सांसदको पीसीआर परीक्षण भइसकेपछि आज दिउँसो १ बजे विशेष अधिवेशनको बैठक बस्न लागेको छ । कोरोना संक्रमति भएपनि ती सांसदले अविश्वासको प्रस्तावमाथि मत भने दिन पाउनेछन् । तर संसद्मा बोल्न भने दिइने छैन । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमण भएमा सांसदले मतदान गर्न पाउने तर सम्बोधन गर्न नपाउने निर्णय गरेको थियो ।