समाचार

सरकारको निर्णय प्रति यातायात व्यवसायीहरु असन्तुष्ट


काठमाडौँ – सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रति यातायात व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ, तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने भएको छ । यस्तो निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् । कोरोना संक्रमणको अवस्था भयावह छ भने अत्यावश्यक बाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको भन्दै सरकारी निर्णयलाई पुर्नविचार गर्न माग गर्नुभयो ।

महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वस्फूर्त अवज्ञा हुने बताउनुभयो ।
अघिल्लो वर्ष लामो समय बन्द गरिदा यातायात क्षेत्र धरासयी भएको भन्दै व्यवसायीहरुले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्नु नहुने बताइरहेका छन् । स्वास्थ्य मापदण्ड पालना गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिइनुपर्ने उनीहरुको माग रहेको छ ।