राजनीति

हेलम्बुका बाढी पीडित भन्छन् : खाद्यान्न ल्याइदेउ सरकार, बरु किनेरै खाउँला


काठमाडौँ – सिन्धुपाल्चोकमा मंगलबार साँझ ६ बजे आएको ल्हार्के र इन्द्रवाती नदीको अकल्पनीय बाढिका कारण मेलम्ची, चनौटे लगायत बस्तीमा अकल्पनीय क्षति पुगेको छ ।

बाढिका कारण हेलम्बु गाउँपालिका जोड्ने सडक बगरमा परिणत भएपछि अहिले हेलम्बुमा खानेकुराको संकट हुन थालेको छ ।
हेलम्बु गाउँपालिका वडा १ का ङिमा शेर्पाका अनुसार पसलमा खाद्यान्न सकिएको जानकारी दिनुभयो । शेर्पाले भने, सरकारसँग हाम्रो अनुरोध छ, सामान मात्र ल्याइदिए किनेर खान्छौँ । मेलम्ची बजारमा बाढीले वितण्डा मच्चिएपछि राजधानीबाट राहत लानेको ओइरो लागेको छ । तर, मेलम्ची उता सडक सम्पर्क नभएपछि पीडितहरु बिचल्लीमा पर्न थालेका छन् ।

मेलम्चीसम्म आइपुग्न तिम्बुबाट करिब १८ किलोमिटर सडक पार गर्नुपर्छ । विद्युत प्रवाह पनि रोकिएकाले यहाँ धेरैको सम्पर्क हुन सकेको छैन । तिम्बु किउल क्षेत्रको सडक बगरमा परिणत भएको शेर्पाले बताए । शेर्पा भने हामी अहिले तिम्बु क्षेत्रमा छौं । ‘यहाँका सडकहरु केही देखिएको छैन,’ गाउँपालिकाका मान्छे माथि आउन सक्दैनन्। हामी तल जान सक्ने अवस्था छैन,’ शेर्पाले भने ।

सिन्धुपाल्चोक संधै संधै प्राकृतिक विपत्तिको मारमा पर्दै आएको छ । यो बर्षाको पहिलो झरमै मेलम्चीलाई यसरी तहसनहस बनाएको छ । अबको दुई महिना बाढि पहिरो र संकटको डरलाग्दो समय रहनेछ ।