राजनीति

देउवाको आफै ‘मपाई’, सरकार सही दिशामा हिडेको दाबी, चुनावका विषयमा के बोले ? (भिडियोसहित)


काठमाडौँ – पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकार सम्हालेको ६ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा देउवाले कोभिड नियन्त्रण र आर्थिक वृद्धिदरमा सरकार सफल रहेको उल्लेख गरेका छन् । देउवाले सरकार सही दिशामा अघि बढेको दाबी समेत गरेका छन् ।

असार २९ मा कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनापछि राष्ट्रका नाममा सम्बोधन गरे । सम्बोधनका क्रममा देउवाले कोभिड–१९ नियन्त्रण र आर्थिक क्रियाकलाप वृद्धिको विषयलाई जोडतोडले उठाए । जबकि दुबै विषयमा सरकार असफल जस्तै देखिन्छ । आगामी बर्षलाई निर्वाचन बर्षका रुपमा सम्बोधन गरेका देउवाले सबै तहका निर्वाचनको तयारी गर्न आह्वान गरे । तर कानुनले स्पष्ट निर्देशित गरेको विषयलाई आफु अनुकुल बनाउन खोजेर सत्ता गठबन्धनले कुन तहको निर्वाचन पहिला गर्ने यसैमा रस्साकस्सी चलाइरहेको छ ।

कोरोना भाइरस नियन्त्रण र नागरिकको जीवन रक्षामा सरकारले उल्लेखित प्रगति गरेको देउवाको दाबी छ । ६५ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएको उल्लेख गर्दै आगामी चैत मसान्तसम्म खोप लगाउन लायक सबैले लगाइसक्ने प्रधानमन्त्री देउवाको जिकिर छ ।

पछिल्लो पाँच महिनाका अवधिमा अर्थतन्त्रका सबै सूचक ओरालो दिशामा छन् । सरकारले विकास बजेटसमेत खर्च गर्न सकिरहेको छैन । अर्थतन्त्र नबुझेको व्यक्तिको हातमा मन्त्रालयको तालाचाँबी पुगेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चर्काे आलोचना भइरहेको छ । तर आफुले सरकारको नेतृत्व गरेपछि आर्थिक क्रियाकलापमा सुधार आएको दाबी गरेका देउवाले आर्थिक वृद्धिदर गत बर्षको भन्दा माथि हुने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ५९ किलोमिटर विद्युतिय प्रसारण थप गरेको विषयलाई गौरवका साथ प्रस्तुत गरेका छन् । ६ महिनामा १७७ किलोमिटर सडक कालोपत्रे भएको विषय पनि देउवाको उपलब्धीको ग्राफमा चढेको छ । तर जनताको चरम आलोचनाबारे देउवा मौन छन् । कानुनको स्पष्ट व्यवस्थामाथि बुट बजारेर स्थानीय तहलाई पन्छ्याउँदै राजनीतिक स्वार्थका लागि संसदीय निर्वाचन पहिला गर्ने गठबन्धनको तयारीका विषयमा देउवामा मौन छन् । बरु प्रधानमन्त्री देउवाले गलत दाबी गर्दै सम्बोधनको अन्त्य गरेका छन् ।

उनले भनेका छन्,छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले सरकार सहि दिशामा अघि बढिरहेको स्पष्ट छ ।