मनोरञ्जन

दशैंको समयमा गुञ्जिने मालश्री धुनको यस्तो छ इतिहास (भिडियोसहित)


काठमाडौँ – दशैंको समयमा गुञ्जिने मालश्री धुनले हरेक नेपालीलाई आनन्दको अनुभूति दिन्छ । यस धुन अनि यसको हार्दिकताले नेपालीलाई चाडपर्वमा छुट्टै उत्साह प्रदान गर्दछ ।

ऐतिहासिक किम्बदन्तीअनुसार देवीको गुनगानका लागि मालश्री धुन बजाउन सुरु गरिएको हो । त्यसैले घर वा मन्दिरमा देवीको पूजा सुरु गर्नुपूर्व यो धुन बजाइन्छ । करिब साढे चार सय वर्षअघि नेवार समूदायबाट यो धुनको उत्पत्ती भएको संस्कृतिविद्हरु बताउँछन् । राजा सिद्धिनरसिंह मल्लको पालादेखि यस धुनको प्रचार हुन थालेको बताइन्छ । पछिल्लो समय विषेशत ः चाडवाडका समयमा देशभरजसोे मालश्री धुन गुञ्जिन गर्दछ । जसलाई मौलिक नेपाली लोक धुन मानिन्छ । मालश्रीको सम्बन्ध शरद ऋतुसंग पनि भएको विज्ञहरु बताउँछन् । समय र संगीतको गहिरो सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको नेपाली संगीत क्षेत्रमा बाह्रै मासअनुसारका संगीत प्रशस्तै पाइन्छन् । तर पनि तिनै मध्ये एक मालश्री धुन दशैंको समयमा देशभरजसो गुञ्जिने गर्दछ ।

त्यसोत हनुमान ढोकामा अवस्थित नृत्यनाथको मन्दिरमा पहिले पहिले दशैंभरी नै मालश्री धुन बजाउने गरिन्थ्यो । पृथ्वीनारायण शाहपछि शाहवंशका राजाहरुले पनि यसलाई निरन्तरता दिए । मालश्री धुन निकाल्न ठिक यही बाजा आवश्यक पर्छ भन्ने छैन । पहिले–पहिले बढी मात्रामा नौमती बाजा बजाउने गरिन्थ्यो । साढे चार सय वर्षदेखि सुनिदै र बजाइदैं आएको यो धुनले अहिलेसम्म निरन्तरता पाइरहेको छ । यो धुनको आफ्नै मौलिकता छ । त्यसैले सदिऔँदेखि नेपालीको मनमनमा गुञ्जिरहेको छ ।

यो धुन पूर्ण रुपमा नेपालमै सिर्जना भएको संगितकारहरुको दाबी छ । यो धुनमा सप्त मात्रिकाको गुणगान छ । मालश्री धुनले नवदुर्गाको आराधना गरेर सबै नेपालीले संयुक्त रुपमा मानिने चाडलाई संकेत गर्छ । मालश्री धुन पछिल्लो समय युवापुस्ताहरुमा अझ परिस्किृत हुँदै गइरहेको छ । यस धुनलाई युवा पुस्ताले फरक फरक ढङ्गल संरक्षण गरिरहेका छन् ।

युगौयुगदेखि मालाश्री धुन समाज अनि हृदयसाँग जोडिएर आएको छ । मालश्री धुन कै बारेमा धेरै कुराहरू त शोध भएको पाईदैन तथापि खोज्दै जाँदा ठाउँ अनुसार मालश्रीको धुन अनि बाजामा फरक फरक मिश्रणहरू रहेका छन् । मालश्रीको आफ्नै किसिमको मौलिकता रहेको छ । संस्कृतिविद्हरु अझ यसलाई परिस्कृत गर्दै लग्न सक्ने युगौ युगसम्म यसलाई जिवन्त राख्न सकिने बताउँछन् ।