Breaking

थारु समुदायमा वंशाणुगत सिकलसेल रोग बढ्दै, विवाह गर्दा चिना होइन रगत जाँच गर्ने परम्परा


काठमाडौँ — पश्चिम तराईका थारु समुदायलाई वंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएको छ । सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरहरुले सुझाव दिएका छन् । यतिबेला बाँकेका थारू गाउँहरुमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै वितरण गरि गाउँगाउँमा बाँडिएको छ ।

सिकलसेल विशेषज्ञ डा.राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ । सामान्यतया विवाह गर्दा चिना हेर्ने गरिन्छ तर थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने भएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाह पूर्व नै रगत जाँच गरी बाहकहरु पत्ता लगाएर बाहक–बाहकबीच र बाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा सिकाएर समुदायले स्विकार्न जरुरी रहेको भेरी अस्पताल बाँकेका फिजिसियन मेडिकल बिभागका बिभागीय प्रमुख बताउँछन् ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले बिरामी र बाहक पत्ता लगाएर समुदायमा सचेतनाका जगाउने काम भइरहेको बताए । बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ । बिरामीका आफन्तहरु भने उपचारमा धेरै खर्च लाग्ने हुँदा सिकलसेल बिरामी तथा आफन्तहरु भने सरकारले बिरामीलाई बाचुन्जेल निःशुल्क औषधि गरिदिनुपर्ने माग गर्छन् ।

बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ, कपिलबस्तुलगायतका जिल्लाका थारु समुदायमा सिकलसेल जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । यतिबेला बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ । रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन् ।

सिकलसेलका रोगीले खाने औषधि नै महंगो छ । सरकारले अत्यावश्यक औषधिको सूचिमा सिकलसेल रोगीको औषधि पनि राखेको छ । तर बीमामा भने समावेश गरिएको छैन । जसका कारण औषधिको सीमा सकिएका बिरामीले बीमाबाट सिकलसेलका लागि चाहिने औषधि पाउन सकेका छैनन् ।