Breaking

रवि, हात्ती र राजाबारे हल्लैहल्ला, अफवाहले तात्यो सञ्जाल, रवि जोगाएको प्रहरीमाथि शंका


नेपाली समाजमा सामाजिक सञ्जालको प्रयोग नकारात्मकतामा बढी प्रेरित हुँदै गएको पाइन्छ । जुनसुकै घटनालाई पनि बंग्याउने, तोडमोड गर्ने, वास्तविकताभन्दा फरक सूचना संप्रेषणले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको हो । पछिल्लो तीन दिनका यी तीन घटना हेरौँ ।

तराईमा अत्यधिक गर्मीले कालोपत्रे सडक जति तातेको छ । त्योभन्दा बढी अहिले सामाजिक सञ्जाल तातेको छ । ‘लू’ को प्रभावले तातेको वायु र अफवाहको भरमा तातेको सामाजिक सञ्जाल दुवै घतक हुन् । एक यस्तो तप्का छ जसले गम्भीर विषयलाई पनि विषयान्तर गर्दै समाजमा कलहको बिउ रोप्ने र समाजलाई गलत सूचनाबाट निर्देशित गराउन उद्धत छ । हल्लैहल्लाको संसार भनेझैं अहिले हल्लैहल्लाको भरमा चलिरहेको नेपालको सामाजिक सञ्जाल पनि । नेपाल भ्रमणमा आएका कतारका राजा बुधबार स्वदेश फर्किन नपाउँदैदेखि दुई हात्ती रुद्रकली र खगेन्द्रप्रसाद कतार जाने हल्लाले बजार पिट्यो । विमानस्थल लैजान लागेको भन्दै ट्रकमै चढाएको यो भिडियोले साँझपख एकाएक बजार तात्यो ।

धेरैले डिजिटल रोइकराइ गरे । भावुक बने, यति मात्रै भएन धेरैलाई राष्ट्रियता उर्लेर आयो । सरकारको विरोध गर्दै जनावरकै संज्ञा दिँदै ठूला मन्त्री र नेतालाई कतार लैजानु पर्ने हात्ती होइन भन्नसम्म भ्याए । तर कसैले पनि यसको तथ्य जाँच गर्न चाहेनन् । कतारले हात्ती लैजाने विषय सत्य हो, तर हात्ती ट्रकमै चढिसकेको भने झुट हो । यसको फ्याक्ट चेक गर्दा यो भिडियो थाइल्याण्डको भएको खुलेको छ । नेपालमा भाइरल हुनु अघि ठिक एक महिना पहिले थाइल्याण्डको एक फेसबुक पेजमा सेयर भएको थियो ।

सामाजिक सञ्जालबाटै हात्तीको बिदार्इं गरेका नेपालीका लागि बुधबार साँझै अर्को भिडियो भाइरल भयो । अस्पतालको बेडबाटै एक युवकले गृहमन्त्रीबारे फेसबुकमा कमेन्ट गरेकै भरमा प्रहरीले यातना दिँदा विष सेवन गर्न बाध्य बनाएको बताएपछि गृहमन्त्री रवि लामिछानेको चर्को विरोध भयो । उनी हुन् जाजरकोटको कुशे गाउँपालिकाका गणेशमानसिंह ठकुरी । प्रहरीको साइबार ब्यूरोका अनुसार उनलाई युवतीको चरित्र हत्याको आरोपमा सोधपुछका लागि ब्यूरो बोलाइएको थियो । तर, ठकुरीले तनाव भएको भन्दै २० ट्याब्लेट सिटामोल खाएकाले उनको ज्यान जोगाउनका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । तर, बेडबाटै भ्रमपूर्ण भिडियो सम्प्रेषण गरे । ठकुरीको परिवारले भने प्रहरी नै झुट बोलिरहेको दाबी गरेको छ । पहुँचमा भएकाहरुको प्रमाणै आउँदा पनि जोगाउन पछि नपर्ने प्रहरी प्रशासन आफ्नो सिद्धान्त नै सुन्ने र थुन्ने भएको ध्वाँस लगाउँछ । तर पेल्न सकिने नागरिकका हकमा भने पहिले हतकडी लगाउने र थुन्ने अनि मात्रै सुन्ने प्रहरीको बर्दिवाला दादागिरी पनि कम छैन । आगो लगाउँछु भनेर मेयरले गरेको पोस्ट र त्यसलाई प्रोमोट गर्नेलाई मतलब नगर्ने, सहकारीको पैंसा खाएर भागेकाहरुले कहाँबाट स्टाटस हाल्छन् थाहा नपाउने प्रहरीले सर्वसाधारणका कमेन्ट उत्खनन्मा भने ‘सिलिकन भ्याली’का वैज्ञानिकलाई समेत मात खुवाउने गरेको छ । तर यस्ता भ्रामक सूचनाको तथ्य जाँचमा मूलधारका मिडियाको भूमिकासमेत कम हुनुु र भ्रममा बाँच्ने दुनियाँका कारण गलत सूचना प्रवाहमा वृद्धि हुँदै गएको छ ।

कतारका राजाको नेपाल भ्रमणका क्रममा राजालाई कुर्सीमा बसाएर राष्ट्रपति रामचन्द्र पौडेल ठिरिङ्ग उभिएको तस्बिर निकै भाइरल भयो । धेरैले विदेशी राजासामू घुँडा टेकेको मात्रै भनेनन् कि राष्ट्रपतिलाई धेरैले ‘अफिस बोइ’ भन्दै सामाजिक सञ्जालमा उडाउने काम गरे । तर यो संस्कारबारे कसैले पनि सोधखोज गर्ने ल्याकत राखेनन् । बरु ट्रोलमै रमाए । खासमा यो कुुनै एक देशको पाहुना अर्को देशमा जाँदा दिइने सम्मान हो । जुन गत वर्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा पनि पाएका थिए । यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदी उभिएका थिए । सचेत भनिएको तप्का नै यस्ता सूचनामा हावाको भरमा मनगढन्ते र भ्रामक तर्कको पछि लागेर बहस चलाउनेदेखि न्यायाधीश बन्ने प्रवृत्ति हाबी हुँदै गएको छ । कुनै गलत घटनालाई १०० पटक दोहो¥याए सत्य सावित हुन्छ भनेझैँ भ्रमको लेप सर्वसाधारणको दिमागमा भर्न एक तप्का निकै सक्रिय छ । यसबाहेक आगलागी हुँदा पानीको जोहो गर्ने, दुर्घटनामा उद्दारभन्दा भिडियो खिचेर भ्यूज कमाउन संघर्ष गर्ने तथा विषयवस्तुको गाम्भीर्यताको रत्तिभर पनि ख्याल नगरी ट्रोलका नाममा विषय बंग्याउँदा समाज अशंवेदनशील बनिरहेको छ ।

सामाजिक सञ्जालमा हुने यस्तै क्रियाकलापका कारण मानिसहरुले संवेदनहीनता त गुमाइरहेकै छन् । गलत सूचनाले वर्चश्व पाउँदा समाजमा भ्रमले डरलाग्दो जरा गाड्दै गएको छ । यस्ता क्रियाकलापले गम्भीर अपराध गर्नेहरुसमेत सामाजिक सञ्जालमा टाउको जोडिएको, आवाज एडिट गरिएकोलगायत कारण देखाएर उन्मुक्तिको बहाना गर्न पाइरहेका छन् । जुन निकै घातक पक्ष हो ।