Breaking

सशंकित प्रचण्ड, माधवको घुर्की, रविको राजीनामा, जुनसुकै बेला मिल्न सक्छन् कांग्रेस–एमाले


काठमाडौँ – संसदीय अकंगणितमा तेस्रो दल भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६ महिनादेखि देशको बागडोर सम्हालिरहेका छन् । कांग्रेसको असहयोगको कारण आफूले सोचेजस्तो काम गर्न नसकेको भन्दै नयाँ सत्ता समीकरण बनाएका प्रधानमन्त्री प्रचण्डलाई अहिलेको गठबन्धनमा पनि हैरानी खेप्नु परेको छ । सत्ता गठबन्धनकै नेताहरूले सरकारको भविश्यमाथि प्रश्न उठाएका छन् । कांग्रेस र एमालेका नेताहरूको छलफल बाक्लिदै जाँदा प्रचण्ड सशंकित छन् । सरकार धरमराएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि एमालेसहित पाँच दलीय नयाँ सत्ता गठबन्धन भारी पर्ने देखिएको छ । कांग्रेससँग ११ महिनाको सत्ता सहकार्य तोडेका प्रचण्डले गत फागुन २१ गते एमालेसँग मिलेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । तर, सत्ता घटककै नेताहरू नयाँ समीकरण लामो समय नटिक्ने बताउन थालेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणलाई बटमलाइन बनाएको छ । कांग्रेसले सदनदेखि सडकसम्म सहकारी प्रकरणलाई मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्ने माग गर्दै आएको छ ।

तर, प्रधानमन्त्री प्रचण्ड आफ्नो सत्ता यात्रा संकटमा पर्ने भयले सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्न तयार छैनन् । रविलाई जोगाउनकै लागि प्रचण्डले हैरानी खेप्नु परिरहेको छ । एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बढ्दो तिक्तताले पनि प्रचण्डको टाउको दुखेको छ । सत्तायात्री दलकै नेताहरूले गठबन्धनको भविश्यमाथि प्रश्न गरिरहेको बेला प्रमुख प्रतिपक्ष दलका नेताहरूले कांग्रेस र एमाले मिलेर देशलाई निकाश दिनुपर्ने आवश्यकता औल्याइरहेका छन् ।

सत्ताबाट बाहिरिनु परेको र कम्युनिस्ट एकताको डम्फु बज्न थालेपछि सशंकित कांग्रेसले अहिलेको गठबन्धन भत्काउनका लागि प्रचण्डलाई पुरानै गठबन्धनमा फर्किन आग्रह गर्नेदेखि माधवकुमार नेपाललाई प्रधानमनन्त्रीको आफर गर्नसमेत पछि परेको छैन । कांग्रेस वर्तमान सत्ता गठबन्धन भत्काउन सबै विकल्प खुला राखेर अगाडि बढेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बैकल्पिक गठबन्धनको विषयमा समेत पटक पटक छलफल हुँदै आएको छ । नेपालले गठबन्धनको भविश्यबारे प्रधानमन्त्री प्रचण्डकै अगाडि प्रश्न उठाइसकेका छन् ।

प्रधानमन्त्री प्रचण्ड अस्थिर छन् । उनी स्वयं पनि आफू नमरुन्जेल देशमा उथलपुथल भइरहने दाबी गर्छन । त्रिशंकु संसदमा प्रचण्डले उथलपुथल गरिरहन्छन कि उनी आफै उथलपुथलको शिकार बन्छन टुंगो छैन । त्यसैले प्रचण्ड सशंकित छन् । पछिल्ला छलफल र भेटवार्ताले प्रचण्डमा रहेको आशंका स्पष्ट पार्छ । तर, सार्वजनिक रुपमा भने उनी अहिलेको गठबन्धन निर्वाचनसम्मै जाने दाबी गर्छन ।

राजनीतिमा जे भनिन्छ, त्यो गरिँदैन । जे गरिन्छ, त्यो भनिदैन । कांग्रेस र एमालेको रणनीति अहिले यस्तै खालको छ । कांग्रेस र एमालेको गठबन्धनले नयाँ बजेट ल्याउनेसम्मको चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ । राजनीतिक विश्लेषकहरू पनि यो सत्ता गठबन्धन लामो समय टिक्न नसक्ने दाबी गर्छन ।

संसदीय अंकगणित अनुकुल नभएकाले प्रचण्डमा छटपटी बढेको छ । यही स्थितिमा संसदको अवरोध अन्त्य, आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट अघि बढाउन प्रचण्डलाई सहज छैन । एमाले र माओवादी मात्रै मिलेर पनि निकास सम्भाव देखिदैन । रास्वपालाई साथ लिँदा पनि विपक्षमा बहुमत पुग्न सक्छ । राजनीतिक खिचातानीमा सानालाई मनाइराख्नुभन्दा कांग्रेस–एमाले मिलेर संघदेखि प्रदेशसम्म सरकार बनाउनुपर्ने र विकास निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने मत बलियो बन्दै गएको छ । कांग्रेस र एमालेका नेताहरूको छलफल बाक्लिदै जाँदा प्रचण्ड सरकार धरमराउन थालेको छ ।