देश

कोरोना सङ्क्रमणको ग्राफ ओरालो लागे पनि जोखिम भने कायमै


काठमाडौँ – चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ ।

सक्रिय संक्रमितको संख्या ५ सय माथि भएपनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । शुक्रवारसम्म चितवनमा ५ सय ८५ जना सक्रिय कोरोना सङक्रमित रहेका छन् ।

जोखिम कायमै रहेको भएपनि पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घट्दै गइरहेको छ । चितवनमा पिसिआर परीक्षणमा १० प्रतिशतभन्दा थोरैमा संक्रमण देखिने गरेको छ । कोरोनाका गम्भीर प्रकृतिका बिरामी घट्दै जानु र मृत्युदरमा कमी आउनुले पनि कोरोनाको संक्रमणदर घटेको स्वास्थ्य कार्यालय चितवनले बताएको छ ।

यहाँ कोरोना संक्रमणको रोकथाम र न्यूनीकरणका कामहरु पनि भइरहेका छन् । चितवनमा हालसम्म दुई लाख ७० हजार बढीले कोरोना विरुद्धको खोप लगाएको उल्लेख गर्दै तिवारीले खोप लगाएकामध्ये एक लाख ५० हजारले पूर्ण खोप पाइसकेका बताउनुभयो ।