राजनीति

एमाले फेरि विवादको खाडलमा, माधवलाई छोडेका नेतालाई ओलीले धोका दिएपछि १० भाई रुष्ट (भिडियोसहित)


काठमाडौँ – पार्टी २०७५ जेठ २ मा फर्किने आश्वासनसहित एमालेमै अडिएका दोस्रो तहका नेताहरुमा असुन्तुष्टि बढ्न थालेको छ । १० बुँदे सहमति अनुसार पार्टी जिम्मेवारीका विषयमा ओली एकलौटी ढंगले चल्न खोजेपछि दोस्रो तहका १० नेताहरु थप सशंकित बनेका हुन् । पार्टीलाई २०७५ जेठ २ मा फर्काउने गरि १० बुँदे सहमति कार्यान्वयनको आश्वासन दिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदुरपश्चिम प्रदेशको पार्टी इन्चार्जमा फर्काएनन्, बरु पूर्व माओवादी केन्द्रका नेता लेखराज भट्ट नै इन्चार्ज रहने र रावलले सहजीकरण गर्नुपर्ने बताए ।

यसबाट २०७५ जेठ २ अघि सुदुरपश्चिमको इन्चार्ज खाइपाइ आएका रावल रुष्ट छन् । नेकपा विभाजन हुँदै एमालेमा ओली–माधवको शक्ति संघर्ष चर्किएका बेला एमाले प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीले सम्हाले । जेठ २ मा फर्किएपछि प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईले प्रवक्ताको जिम्मेवारी सम्हाल्नु पर्ने थियो । तर ज्ञवालीले प्रवक्ता फिर्ता गरेनन् र भट्टराईले आफु जिम्मेवारीविहिन भएको महसुस गरे । अन्ततः जेनतेन भदौ २६ को स्थायी कमिटी बैठकपछि भट्टराई पार्टीको निर्णय सुनाउन पत्रकार माझ देखिए, तर उनले आफुलाई प्रवक्ता भने स्विकारेनन् ।

एमाले विभाजनका बेला फरक वा नयाँ पार्टी बनाएर जानुुलाई गद्दारीको अर्थमा बुझेका यी नेताहरुले माधवकुमार नेपालसंगको राजनीतिक यात्रालाई विश्राम लगाएर अध्यक्ष ओलीसंगै भिडेर बस्नुलाई हितकर ठानेका थिए । माधव नेपालको विभाजनपछि तेस्रोधार जन्माएका उनीहरुको १० बुँदे सहमतिको अक्षरशः पालना र पार्टी संरचना २०७५ जेठ २ मा फर्काउनुपर्ने मुल सर्त थियो । तर आश्वासन पाएको महिना दिन वित्न नपाउँदै सर्त अनुसार अध्यक्ष ओली चल्न आनाकानी गरेपछि दश नेताको छटपटी बढेको छ ।

केही प्रदेश कमिटीमा जेठ २ मा संरचना फर्किएपनि सुदुरपश्चिम र बागमती प्रदेशको इन्चार्जलाई लिएर ओली अनिच्छुक देखिएपछि १० बुँदे धरापमा परेको छ । त्यस्तै महानगर र जनवर्गिय संगठनमा संस्थापनको एक पक्षिय भेला, सुनसरीको जिल्ला सचिवालयले समेत केन्द्रको निर्णय नमान्ने निर्णय गर्नु मतभेद चुलिदै गएको संकेत हो । यसले एमाले तेस्रोधारका नेताहरू ओलीको कार्यशैली र व्यवहारप्रति चिढिएका मात्र छैनन् सशंकित बनेका छन् । अब फरक पार्टी बनाएर जाने कि माधवतिर पदार्पण गर्नेसम्मको बहस सिर्जना भएको छ । तर यसअघि यहीँ तेस्रो धारमा रहेर अन्तिम समयमा माधवतिर जान खोजिरहेका नेताहरु भने १० भाई पनि नेकपा (एकिकृत समाजवादी) मै आउने दाबी गर्छन । १० बुँदे सहमति कार्यान्वयनमा ओली इमान्दार नभए एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको पार्टीलाई फाइदा पुग्ने उनीहरुको विश्वास छ ।

माधवको साथ छोड्नका लागि ओलीले स्थायी कमिटी सदस्यद्धय अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई क्रमशः बागमती र प्रदेश एकको मुख्यमन्त्री बनाएका थिए । तर अहिले एमाले अल्पमतमा परेपछि उनीहरु पनि समस्यामा छन् । यद्यपी ओलीबाट छलकपट हुन थालेको भन्दै सशंकित बनेका दोस्रो तहका नेताहरुले अब पार्टीभित्रै विद्रोह गर्लान् वा पुराना सहकर्मीकै फेरो समाउन जालान् त्यो भने हेर्न बाँकी छ ।