Breaking

एमालेको एकल बहुमतको सरकार नै हाम्रा मुख्य एजेण्डा हुन्छ: पृथ्वीसुब्बा गुरुङ


काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकल बहुमतमा आफ्नो नेतृत्वको सरकार बनाउने एजेण्डासहित चुनावमा होमिने भएको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको ध्यान अब निर्वाचन केन्द्रित भएर जाने निर्णय गरेको हो । बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘हामी अब चुनावमा होमिसकेका छौँ ।

उम्मेदवार चयनको विधि र मापदण्ड केन्द्रीय कमिटीले निर्धारण गर्छ । त्यो तल्लो तहसम्म पठाएपछि त्यही अनुसार सिफारिस हुन्छ । चुनावको रणनीतिबारे त्यहीँ उल्लेख छ । एमालेको अहिलेको अवस्था, गठबन्धनबारे धारणा र एमालेको एकल बहुमतको सरकार नै हाम्रा मुख्य एजेण्डा हुन्छन् ।’

उनले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिमा पेश गर्ने प्रतिवेदनको समेत बिफ्रिङ गरेको बताए। प्रतिवेदनमा गठबन्धन सरकारले गरेको गलत काम, पार्टी अवस्था र आगामी रणनीतिबारे उल्लेख हुने बताए । ३४ प्रतिशत मतसहित एमाले लोकप्रिय पार्टी रहेको उनले दाबी गरे ।

उनले भने, ‘हामी गठबन्धन गर्दैनौँ भनेर ढोका बन्द गरेका छैनौँ । आउनेसँग गछौँ । तर, हामी एक्लै चुनावमा जान सक्छौँ भनेका हौँ । हाम्रो सुशासन र समृद्धिको अभियानमा छौँ । एजेण्डा मिल्नेसँग तालमेल हुन्छ । गठबन्धनको बिषयमा झ्याली पिट्दै हिँड्दैनौँ ।’