Breaking

अचाक्ली मूल्यवृद्धि, दैनिक खर्च धान्नै मुस्किल, कहाँ छ सरकार ?

योहो संवाददाता

काठमाडौँ — बजारमा दैनिक उपभोग्य हरेक वस्तुको मूल्य छोईसक्नु छैन । पेट्रोलियम पदार्थ, तरकारी खाद्यन्न लगायत दैनिक उपभोग्य हरेक सामानको बजार भाउ आकाशिँदा उपभोक्ता दैनिक खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन् ।
उमेरले झन्डै सात दशक पुगिसकेकी जानुका सुन्दास गौशालाको यहि सडकपेटिमा नाङलो पसल गर्छिन । उमेर छँदा साहुको घरमा मजदुरी गरेर गुजारा चलाएकी उनी विगत ११ वर्षदेखि यहि स्थानमा नाङलो पसल गर्दै आएकी छिन । बुढैली उमेर, रोगी शरीर भए पनि नाङलो पसल उनको बाध्यता हो ।

सुन्दासलाई घरमा नै आफ्ना नातीनातीनी खेलाएर बस्न मन नभएको कहाँ हो र ? छोराबुहारीले पनि कोठामा नै बस्नु नभनेका पनि होइनन्, तर शारीरिक रुपमा अशतm छोरा बुहारी र लालावाला नातानातीको मायाले सकी नसकी केहि पैसा जोह गर्न यो चर्को घाममा छाताको छहारीमा नाङलो पसल गर्दै आएकी छिन । विगतमा दिनको दुई हजार २५ सयसम्मको व्यापार गरेर ५ सयसम्म कमाई हुन्थ्यो । तर अहिले दिनको ३ सय कमाउनै हम्मेहम्मे छ । महंगीका कारण छोराबुहारी, आफ्नो समेत कमाईले पनि घर धान्न चर्को परेको छ । १५ हजार पैसा जम्मा गरेर आँखाको उपचार गर्ने उनको सपना अधुरै छ । मासिक प्रेसरको औषधि खाना सकेकोमा नै उनी खुशी छन ।

सिन्धुपाल्चोकका हर्क बहादुर पुरी विगत १६ वर्षदेखि काठमाडौमा ट्याक्सी चलाउँदै आएका छन । बजारको महंगिले उनको दैनिकी पनि कम कठिन भएको छैन । उनलाई तीन जनाको परिवार पाल्नै हम्मे हम्मे छ । अपरझट केहि भइहाल्यो भने क्रृण गर्नुको विकल्प छैन दोलखाका विश्वास दाहाल नेपालमा नै दैनिक १४ घण्टा काम गर्छन । उनी विहान ७ बजे ठेलागाढामा चप्पल राखेर बेच्न निस्किन्छन । बेलुका ९ बजे घर पुग्छन । हेल्थ असिस्टेन्ट समेत भएर काम गरेका उनीसँग ७ वर्षदेखि चप्पल बेचेर नै राम्रो कमाई भएको अनुभव छ ।

तर कोरोना महामारी र अहिलेको महंगिले भने दैनिकी असहज बनाएको बताउँछन । पहिले सबै खर्च धानेर मासिक २०/३० हजार बचत गर्न सक्ने परिस्थिति थियो अहिले दैनिक खर्च धान्नै हम्मे भएको उनी बताउँछन । यी त केहि प्रतिनिधि पात्र मात्र हुन् । दैनिक कमाएर छाक टार्ने हरेक आम सर्वसाधरणको दैनिकी यहि हो । महंगीका कारण सर्वसाधारण जनतालाई बिहान बेलुकाको छाक टार्न समेत धौ धौं छ । पटक पटकको मूल्यवृद्धिले आमजनता पीडामा छन । जनताको आय स्रोत बढेको छैन । तर महंगी अचाक्ली बढ्दो छ । बाँच्नै गाह्रो भएको छ । महंगीले जनताको ढाँड सेकिरहेको छ । तर नियमनकारी निकाय मौन छ, अनि सरोकारवाला नागरिक समाज भनिएकाहरु चुपचाप छन । उनीहरुले मुल्यवृद्धिको मौन समर्थन गरिरहेका छन् ।