काठमाडौँ – रोल्पाका विभिन्न गाउँमा बाँदरले आतंक मच्चाएको छ । जिल्लाका पश्चिम भेगस्थित माडी, गंगादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतंक मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतंकित बनेको परिवर्तत गाउँपालिका–६, ओहका मान्धोज पुनमगरले बताए ।
यहाँका खेतबारीमा लगाएको मकै र फलफूल बाँदरले खाएपछि किसान चिन्तित बनेको उनको भनाइ छ । ६ महिनासम्म दुःख गरेर लगाएको बाली बाँदरले गाउँमै पसेर नोक्सानी गरिदिएको पुनमगरले जानकारी दिए ।
“घोगा लागेका मकै र फलफूल बाँदरले चिथोरेर सखाप बनाइदिएको छ,” उनले भने । बाँदरले बिरुवादेखि बोट हुँदै अहिले घोगा लागेका मकै पनि खाइदिएको उनको भनाइ छ ।
बाँदरको आतंककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य छन् । खेतमा लगाएको बालीनाली र रुखका फलफूल मात्रै होइन, पकाएको खाना र बजारबाट किनेर ल्याएका सामानसमेत बाँदरले लग्ने गर्दा स्थानीयवासी आतंकित बनेका हुन् ।
बाँदरले स्थानीय बासिन्दालाई सहनै नसकिने गरी दुःख दिन थालेपछि बसाइँ सर्ने अवस्था आएको स्थानीयवासी मनु बुढामगरको भनाइ छ । “साँझ घर आयो फेरि बिहानै उठेर बाँदर धपाउन खेतबारी पुग्नुपर्छ,” उनले भने, “हिउँदका समयमा सिँचाइको सुविधा छैन, उत्पादन पनि हुँदैन, वर्षे बालीको आशा हुन्छ । तर, बाँदर आएर त्यो पनि खाएर नष्ट गरिदिन्छन् ।”
“पहिले–पहिले पनि बाँदर आउने गरेको थियो । तर, अहिलेको जस्तो धेरै दुःख दिने गरेको थिएन,” ज्येष्ठ नागरिक माकु चन्द्रकाले बतए । “म बुढो मान्छे, बिहानै खेतमा जान्छु, बाँदर धपाएर बस्छु,” उनले भने । अहिले गाउँमै बाँदर पस्न थालेर हैरानै पारेकोे उनको गुनासो छ ।
परिवर्तन गाउँपालिका–६, ओह गाउँमा रहेको भिरखामे पहरामा धेरै वर्षात् भएपछि बाँदर बास बस्नका लागि उक्त भिरमा आउने गरेको स्थानीयवासीको भनाइ छ ।
त्यस्तै, बाँदरले परिर्वतन गाउँपालकाको ओह, हाकलङ, नाफे, थानकोट, झेङ्जा, माडी गाउँपालिकाको खनाबाङ, धनथाना, तथा गंगादेव गाउँपालिकाको भिरखोला, झाझर खोलालगायत विभिन्नि ठाउँमा सताउने र क्षति गर्ने गरेका छन् ।
बाँदरका कारण जंकलनजिकै भएका धैरै जमिन बाँझो हुने गरेका छन् । जसले गर्दा धेरै दुःख गरेर लगाएको बाली एकैपटक आएर नोक्सान गरिदिने बाध्यताले कोही सहरमा त कोही भारतमा गएको स्थानीयवासीको भनाइ छ ।


प्रतिक्रिया