Breaking

कांग्रेसमा अर्को महाधिवेशन, सभापति र महामन्त्री बन्न हानथाप, गगनलाई ठेगान लगाउने पात्र खोज्दै देउवा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पार्टीको महाधिवेशन सफल बनाउन देश दौडाहामा जुटेका छन् । १५औँ महाधिवेशनपछि पार्टी नेतृत्वबाट विश्राम लिने योजनामा रहेका देउवा उमेरले आठ दशक नाघिसक्दा पनि आफैँ सक्रिय भएर महाधिवेशन सम्पन्न गराउनेतर्फ लागेका हुन् । समानान्तर महाधिवेशनको तयारी तीव्र पारिँदा सातै प्रदेशको अधिवेशन देउवाले नै उद्घाटन गर्ने तय भएको छ । मङ्सिर ५ गतेदेखि सुरु भएर १९ गते सकिने प्रत्येक प्रदेश अधिवेशनमा देउवालाई नै प्रमुख अतिथि बनाइएको छ । देउवा पक्षको कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेसँगै पदका लागि थुप्रै आकांक्षीहरू पनि देखिन थालेका छन् । कांग्रेसकै नेतृत्व सम्हाल्ने अभिलाषासहित देउवापछिको उत्तराधिकारी बन्ने होडबाजीमा धेरै नेताहरू देखिए पनि देउवा स्वयम् भने पार्टीको अभिभारा पुनः एकपटक कोइराला परिवारकै काँधमा सुम्पिने मनसायमा छन् । महाधिवेशन तयारी समितिका संयोजक रहेका बीपीपुत्र डा. शशाङ्क कोइरालालाई नै सर्वमान्य बनाउन देउवाको कसरत छ । तर, आकांक्षी धेरै हुँदा सहमतिमै नेतृत्व चयन हुन सहज भने देखिँदैन । कोइरालाको नाममा अधिकांश नेताहरू सहमत देखिए पनि कुनै एक जनाले मात्र असहमति जनाए अन्यले पनि दाबेदारी पेस गर्ने तयारी गरेका छन् ।