अन्तराष्ट्रिय

किम जोङ उन : विश्वभर बेपत्ताको हल्ला, एक्कासि चीनबाट नयाँ सन्देश, कोरिया–चीन जोड्ने ऐतिहासिक पुल (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– मृत्युको हल्लाका बीच उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चीनको सीमावर्ती सहर डानडोङको आकस्मिक भ्रमण गरेका छन् । पटक पटक मृत्युको हल्लापछि उनी सार्वजनिक कार्यक्रममा देखिनु नौलो विषय भने होइन । तर यसपटक चीनको सीमावर्ती सहरको आकस्मिक भ्रमण गर्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धमा चिनियाँ जनस्वयंसेवक सेना (सीपीभी) सहभागी भएको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा शनिबार भएको यस भ्रमणलाई दुई देशबीचको ऐतिहासिक र रणनीतिक सम्बन्धलाई पुनः नवीकरण गर्ने महत्त्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ । एक वर्षभन्दा बढी समयपछि भएको किमको यो पहिलो चीन भ्रमण हो । यसअघि उनी गत वर्ष सेप्टेम्बरमा आफ्नी छोरी जु–एसँगै चीन–जापान युद्ध विजयको वार्षिकोत्सवमा सहभागी हुन बेइजिङ पुगेका थिए । सन् २०१८ यता किमको यो छैटौँ चीन भ्रमण हो । भ्रमणका क्रममा नेता किमले डानडोङस्थित ‘अमेरिकी आक्रामकता विरुद्ध प्रतिरोध र कोरियालाई सहयोग गर्ने युद्ध’ सम्बन्धी स्मृति भवनको अवलोकन गरे । त्यहाँ उनले कोरियाली युद्धमा ज्यान गुमाएका चिनियाँ सैनिकहरूको सम्मानमा पुष्पहार अर्पण गरे । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार, किमले स्मृति भवनलाई दुई देशबीचको ‘रगतले लेखिएको अमर मित्रताको प्रमाण’ भन्दै आफ्ना क्रान्तिकारी पूर्वजहरूको बलिदानी इतिहासलाई पुस्तान्तरण गरिरहने प्रतिबद्धता व्यक्त गरे ।