Breaking

जनतासँग निहुरिँदै प्रचण्ड, ओलीसँग फायर, रास्वपाको पोल खोल्ने, विगतका ४ अभियान फेल (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– पार्टी र जनताबीच बढ्दो दूरी स्वीकार गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुईमहिने राष्ट्रिय जागरण अभियानसहित फेरि जनतामाझ पुगेका छन् । सत्ता, सङ्घर्ष र राजनीतिक समीकरणको लामो अनुभव बोकेका प्रचण्डका लागि जनतामाझ फर्कनु कुनै नौलो विषय होइन । विभिन्न समयमा पार्टी सुदृढीकरण, जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार र संगठन पुनर्गठनका अभियान सञ्चालन भए पनि अभियानको घोषणा र त्यसले जनतामा पार्ने वास्तविक प्रभावबीचको दूरी नै अहिलेको मुख्य प्रश्न बनेको छ ।
जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको र पार्टीमा जनमुखीभन्दा नेतामुखी प्रवृत्ति बढेको विषय स्वयं नेकपाले स्वीकार गरिसकेको छ । त्यसैले अहिलेको जागरण अभियान केवल संगठन विस्तारको औपचारिकता मात्र नभई विगतका कमजोरीको निर्मम समीक्षा गर्दै जनविश्वास पुनःनिर्माण गर्ने प्रयासका रूपमा पनि हेरिएको छ । ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियानदेखि विभिन्न संगठनात्मक तथा जनपरिचालन कार्यक्रमसम्म पार्टीले पटक–पटक तल्लो तहसम्म पुग्ने लक्ष्य राख्दै जनमत बटुल्दै आएको विगत छ । तर, प्रश्न उही छ— विभिन्न अभियानमार्फत जनतासँग जोडिने प्रयास गर्दै आएका प्रचण्डले यसपटक जनविश्वास पुनःआर्जन गर्न सक्लान् त ? नेपाली कांग्रेस र नेकपा एमालेभन्दा आफूलाई फरक देखाउने र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग पनि राजनीतिक तथा वैचारिक भिन्नता प्रस्तुत गर्ने प्रचण्डको नयाँ रणनीति के हो ? यसले थुप्रै प्रश्न उब्जाएको छ ।